सुदूरपश्चिमका ६ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार ०९:०९

सुदूरपश्चिम । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्लाका सभापतिहरू पार्टीमा पछिल्लो समय उठाइएको विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् ।

विशेष महाधिवेशनको प्रस्तावप्रति असहमति जनाउँदै उनीहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । बझाङ, डोटी, डडेलधुरा, अछाम, कञ्चनपुर र कैलालीका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन आह्वान विधानविपरीत भएको ठहर गर्दै त्यसमा सहभागी नहुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा बझाङका सभापति खडकबहादुर बोहरा, डोटीका सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुराका सभापति भीम साउद, अछामका सभापति पुष्पबहादुर शाह, कञ्चनपुरका सभापति पदम बोगटी र कैलालीका सभापति नारायणदत्त भट्टको हस्ताक्षर छ । उनीहरूले पार्टी विधानले स्पष्ट रूपमा केन्द्रीय कार्यसमितिलाई मात्र महाधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार दिएको उल्लेख गर्दै व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यले यस्तो कार्यक्रम घोषणा गर्न नसक्ने बताएका छन् ।

विज्ञप्तिमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको सन्दर्भ उल्लेख भए पनि त्यसपछि पार्टीको कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको स्मरण गराइएको छ । सो निर्णय कार्यसम्पादन समितिको आधिकारिक निर्णय भएकाले त्यसलाई बेवास्ता गर्दै अन्य ढंगबाट विशेष महाधिवेशन आह्वान गर्नु विधान र संगठनात्मक अनुशासनविपरीत हुने उनीहरूको निष्कर्ष छ ।

कार्यसम्पादन समितिको निर्णयपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र विवाद चर्किएको छ । यही सन्दर्भमा सुदूरपश्चिमका ६ जिल्ला सभापतिहरूले महामन्त्रीद्वयबाट गरिएको आह्वानलाई विधानसम्मत नभएको ठहर गर्दै त्यस किसिमका गतिविधिमा संलग्न नहुन स्पष्ट अपिल गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभई पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ ।’ विधानविपरीत व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि अस्वीकार्य हुने भन्दै त्यसमा सहभागी नहुन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ ।

जिल्ला सभापतिहरूले पार्टीभित्र आन्तरिक विवाद र असमझदारी बढ्ने खालका गतिविधिभन्दा संगठनलाई मजबुत बनाउने दिशामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आसन्न राजनीतिक कार्यसूचीलाई प्राथमिकतामा राख्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन सबै नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

यसैबीच महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि काठमाडौंसहित देशका विभिन्न जिल्ला कार्यसमितिहरूले त्यसको समर्थनमा विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन अपिल गरिरहेका छन् । यसले कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर धारणा विभाजित भएको स्पष्ट देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.