
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षभित्र विशेष महाधिवेशनलाई लिएर नयाँ समीकरण देखा परेको छ। ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले एउटा विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूको मतलाई सम्मान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
यो समूहले विशेष महाधिवेशनको मागलाई नजरअन्दाज गर्नुको सट्टा संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको हो। महाधिवेशन प्रतिनिधिहरूले विधिवत रूपमा लिखित निवेदन दर्ता गरिसकेको अवस्थामा उनीहरूको भावनालाई समेटेर अघि बढ्नु नै पार्टी हितमा हुने निष्कर्ष यो समूहले निकालेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र भरोसायोग्य पार्टी बनाउन नयाँ ऊर्जा र सोचको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टीभित्र देखिएको यो शक्ति संघर्षलाई संवादमार्फत समाधान गरी बृहत् एकताका साथ निर्वाचनमा होमिनुपर्नेमा उनीहरूले जोड दिएका छन्। परिवर्तन र रूपान्तरणका मुद्दा अंगाल्दै नयाँ दृष्टिकोणका साथ अघि बढ्नु आजको आवश्यकता भएको यो समूहको ठम्याइ छ।
यसअघि १८ पुसमा सभापति देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई भेटेको यो समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग पनि गहन छलफल गरेको थियो। निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गर्दै आएको यो २५ सदस्यीय समूह १५ औँ महाधिवेशनको कार्यतालिका स्पष्ट हुनुपर्ने अडानमा रहँदै आएको छ। संस्थापन पक्षभित्रैबाट आएको यो फरक मतले पार्टी नेतृत्वलाई थप दबाब सिर्जना गरेको छ।
























