राप्रपा कार्यालयमा समानुपातिक सूचीलाई लिएर तनाव

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १७:३७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक उम्मेदवारको सूचीलाई लिएर विवाद चर्किएपछि शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा तनाव उत्पन्न भएको छ। समानुपातिक सूचीमा ‘परिवारवाद’ हाबी भएको भन्दै सच्याउन माग गर्न पुगेका महिला नेत्रीहरू र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको हो।

आन्दोलित महिला नेत्रीहरूले पार्टीमा लामो समय योगदान गरेका कार्यकर्तालाई पाखा लगाएर नेतृत्वका परिवारका सदस्य र विवादित व्यक्तिहरूलाई अवसर दिइएको आरोप लगाएका छन्। उनीहरूले नेतृत्वलाई विज्ञप्ति बुझाउँदै माग पूरा नभएसम्मका लागि पार्टी कार्यालयमै अनसनसमेत सुरु गरेका छन्।

नेत्रीहरूको मुख्य आपत्ति वरिष्ठ उपाध्यक्ष तामाङकी पत्नी सरस्वती लामा र खुश्बु ओलीको नामलाई लिएर रहेको छ। विज्ञप्तिमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही भोगेकी र पार्टीलाई कहिल्यै मतदान नगरेकी खुश्बु ओलीलाई समानुपातिक सूचीमा राख्नु अन्यायपूर्ण भएको उल्लेख छ। उनीहरूले ओलीलाई प्रत्यक्ष चुनाव लड्न पठाउनुपर्ने र समानुपातिक कोटामा वास्तविक संघर्षशील कार्यकर्तालाई समेट्नुपर्ने माग राखेका छन्।

पार्टीभित्र एकै परिवारबाट समानुपातिकमा तीन जना र गठबन्धनमार्फत थप एक जनालाई अघि सारिएको भन्दै महिला नेत्रीहरूले नेतृत्वको कडा आलोचना गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको सूची अन्तिम समयमा सच्याउनुपर्ने दबाबले राप्रपाभित्रको आन्तरिक कलह थप सतहमा आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.