
विराटनगर । नेपाली कांग्रेसको आगामी पुस २७ र २८ गते काठमाडौँमा हुने भनिएको विशेष महाधिवेशनलाई लिएर कोशी प्रदेशका नेता र प्रतिनिधिहरू दुई कित्तामा विभाजित भएका छन्। विशेष महाधिवेशन पक्षधरले बढीभन्दा बढी प्रतिनिधि काठमाडौँ उतार्ने तयारी गरिरहँदा संस्थापन पक्षले भने यसलाई रोक्न कसरत गरिरहेको छ।
कोशी प्रदेशका १४ जिल्लामध्ये सभापतिहरू नै पक्ष र विपक्षमा बाँडिएका छन्। उदयपुरका सभापति हिमाल कार्की, भोजपुरका विनोद वान्तवा, धनकुटाका दिनेश राई र तेह्रथुमका अर्जुनबहादुर तुम्बाहाम्फे खुलेरै विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। यता, मोरङका डिगबहादुर लिम्बु, झापाका देउमान थेबे, सुनसरीका केदार भण्डारी, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ, पाँचथरका रूपनारायण जबेगु र संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौली भने नियमित अधिवेशनको पक्षमा छन्। सोलुखुम्बुका सभापति नामगेलु शेर्पा भने हालसम्म तटस्थ देखिएका छन्।
कोशी प्रदेश सभापति उद्धव थापाले पार्टीले नियमित अधिवेशनको तालिका सार्वजनिक गरिसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएको बताएका छन्। त्यस्तै, उपसभापति रमेशजंग रायमाझीले यसलाई ‘विशेष महाधिवेशन’ भन्दा पनि ‘महामन्त्रीहरूको भेला’ को संज्ञा दिँदै यसको वैधानिकतामाथि नै प्रश्न उठाएका छन्। उनले मृतक र पार्टी छाडेकाहरूको नाम दुरुपयोग गरी हस्ताक्षर सङ्ख्या बढाइएको आरोप समेत लगाएका छन्।
तर, विशेष महाधिवेशन पक्षधर नेताहरू भने कोशीबाट बहुमत प्रतिनिधि काठमाडौँ जाने दाबी गर्छन्। उदयपुर सभापति हिमाल कार्कीले सत्ता र शक्तिको दुरुपयोग गरेर प्रतिनिधि रोक्न खोजिएको आरोप लगाउँदै कोशीबाट ६० देखि ६५ प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी गरे। ‘उदयपुरका ५३ मध्ये ४१ जना काठमाडौँ जाने तयारीमा छन्, देशभरबाट ६० प्रतिशतभन्दा बढीको समर्थन जुट्छ,’ कार्कीले भने।
यसैगरी प्रदेश सहमहामन्त्री खड्ग फागोले मोरङका १५९ मध्ये १०४ जनाले हस्ताक्षर गरिसकेको र प्रविधिको प्रयोग गरी विदेशबाट समेत समर्थन प्राप्त भइरहेको बताए। झापाका ५१ प्रतिशत र धनकुटाका १७ जना प्रतिनिधि विशेष महाधिवेशनमा जाने तयारीमा रहेको पक्षधर नेताहरूको भनाइ छ। इलामबाट ३३–३४ जना र सोलुखुम्बुका अधिकांश प्रतिनिधि पनि काठमाडौँमै रहेको बुझिएको छ।
यो प्रदेश नेता डा. शेखर कोइरालाको गृहप्रदेश भए पनि उनी स्वयं नियमित महाधिवेशनको पक्षमा देखिएका छन्। यद्यपि, उनकै कतिपय निकटस्थहरू भने अहिले गगन–विश्व पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। दुवै पक्षबीचको यो ‘शक्ति प्रदर्शन’ ले पुस २७ को भेलाअघि कोशीको राजनीतिलाई निकै तताएको छ।
























