कोशी प्रदेशको पहिलो घुम्ती स्वास्थ्य सेवा, ८० लाखको बसभित्र अस्पताल

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २५, शुक्रबार १९:००

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य सेवामा नयाँ अभ्यासको थालनी गर्दै प्रदेशकै पहिलो ‘कोशी घुम्ती अस्पताल’ सञ्चालनमा ल्याएको छ ।

झापाको कमल गाउँपालिकाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको यो सेवा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार उद्घाटन गरेका छन् । ठूलो बसलाई नै अत्याधुनिक अस्पतालका रूपमा रूपान्तरण गरी सुरु गरिएको घुम्ती अस्पताललाई नेपालकै पहिलो र नमुनायोग्य पहलका रूपमा हेरिएको छ ।

बसभित्रै रेडियोलोजी सेवा, मुटुको एक्स–रे, रगतको विभिन्न परीक्षण, रगतको नमुना संकलन, तथा परीक्षण गर्न सकिने आधुनिक उपकरण जडान गरिएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार दुर्गम र स्वास्थ्य सेवा सहज रूपमा नपुग्ने क्षेत्रमा तत्काल उपचार र प्रारम्भिक परीक्षणका लागि घुम्ती अस्पताल अत्यन्त प्रभावकारी हुनेछ ।

आवश्यक परेमा बिरामीलाई थप उपचारका लागि सहज हुने गरी सेवा डिजाइन गरिएको उनको भनाइ छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी घुम्ती अस्पताललाई गाउँ–गाउँसम्म विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको स्पष्ट पारेका छन् ।

महामारी फैलिँदा वा आकस्मिक स्वास्थ्य संकटका बेला स्वास्थ्य शिविर सञ्चालन गर्न यो सेवा अत्यन्त उपयोगी हुने उनको विश्वास छ। ‘स्वास्थ्य सेवा अस्पतालको पर्खालभित्र मात्र सीमित हुनु हुँदैन । सेवा जनताको घरदैलोसम्म पुग्नुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यो घुम्ती अस्पताल त्यसैको एउटा ठोस उदाहरण हो ।’

उनले यसलाई थप परिस्कृत गर्दै अझ प्रभावकारी बनाउने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी पनि दिए । प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले प्रदेश सरकारले जनताले प्रत्यक्ष देख्ने र अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।

कागजमा मात्र सीमित नहुने र व्यवहारमा परिवर्तन देखिने कार्यक्रमका रूपमा घुम्ती अस्पताललाई अघि बढाइएको उनको भनाइ थियो । ‘दुर्गम बस्ती, विपन्न समुदाय र सेवा पहुँच बाहिर परेका नागरिकका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुनेछ,’ मन्त्री लिम्बूले भने ।

स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमै अत्याधुनिक स्वास्थ्य सेवा सुरु गरिएको हो । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै कम लागतमा ठूलो प्रभाव पार्ने उद्देश्यसहित यो अवधारणा ल्याइएको जानकारी उनले दिए ।

आवश्यकता अनुसार विभिन्न जिल्लामा घुम्ती अस्पताल परिचालन गर्ने योजना निर्देशनालयले बनाएको छ । घुम्ती अस्पतालको शुभारम्भकै दिन कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।

शिविरमा स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । गाउँमै अत्याधुनिक उपकरणसहितको स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

कोशी घुम्ती अस्पताललाई प्रदेश सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने दीर्घकालीन योजनाको एक महत्वपूर्ण कडीका रूपमा अघि सारेको छ । अस्पताल पुग्न घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका नागरिकका लागि यो अस्पताल आशाको नयाँ ढोका बनेको छ । प्रदेश सरकारको यो पहलले स्वास्थ्य सेवामा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×