
काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे सानेपा स्थित कार्यालयमा बस्नेछ ।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरू सहभागी हुनेछन् । विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाइएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । यसैबीच, भृकुटीमण्डपमा महाधिवेशन तयारी तीव्र भएको छ ।
देशभरका प्रतिनिधिहरू राजधानीमा भेला भएका छन् भने कांग्रेसका पक्षधर नेताहरूको चहलपहल बढेको छ । शनिबार दिउँसो महाधिवेशन समर्थनमा र्याली पनि निकालिनेछ ।
कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ । यसअघि १४ औँ महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले यसको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।
























