
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का प्रभावशाली नेता घनश्याम भूसालले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनका लागि शुभकामना दिएका छन्। महामन्त्रीद्वयले अघि बढाएको महाधिवेशनको सफलताले नेपाली राजनीतिमा दूरगामी महत्त्व राख्ने बताउँदै पूर्वमन्त्री समेत रहेका भूसालले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
राजनीतिक विचारको खरिदबिक्री र बेथितिलाई व्यङ्ग्य गर्दै भूसालले लेखेका छन्, ‘नेपाली कांग्रेसलाई कांग्रेसीहरूको बनाउन सकियो भने कम्युनिस्ट पार्टी पनि कम्युनिस्टहरूकै हुन कर लाग्छ। यसो भएमा बीच सडकमा दिनदहाडै भइरहेको तथाकथित विचारहरूको खुलेआम खरिदबिक्री रोकिने छ।’
उनले यो विशेष महाधिवेशन सफल भएमा नेपालको राजनीतिमा व्याप्त ‘दलाल पुँजीवादको संयुक्त कार्यालय’ विघटन हुने विश्वास समेत व्यक्त गरेका छन्। गगन र विश्वप्रकाशको नेतृत्वमा हुन लागेको यो महाधिवेशनले नेपाली राजनीतिको ‘मधुशाला’ भत्काउन सके वर्तमान गतिरोध तोड्न असाधारण योगदान पुग्ने भूसालको विश्लेषण छ।
पार्टीको संस्थापन पक्षले अस्वीकार गरे पनि विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशनको आयोजना गर्दैछन्। भूसालले कांग्रेसको यो आन्तरिक मामिला भए पनि यसको असर समग्र राष्ट्रिय राजनीतिमा पर्ने उल्लेख गर्दै महाधिवेशनको सफलताको कामना गरेका छन्।
























