
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाहलाई ‘फेसबुके प्रधानमन्त्री’को संज्ञा दिएका छन्। इटहरीमा आयोजित एक सभालाई सम्बोधन गर्दै साम्पाङले देश संकटमा परेका बेला पन्छिने व्यक्ति प्रधानमन्त्रीको लायक हुन नसक्ने दाबी गरे।
मेयर शाहप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका साम्पाङले पूर्वगृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बाँकी राखेनन्। उनले लामिछाने र घिसिङ विदेशीको मतियार भएको गम्भीर आरोप लगाए। पछिल्लो समय यी तीन नेताहरूबीच देखिएको निकटता र एकतालाई साम्पाङले ‘गाँठो बन्धन’को संज्ञा दिँदै यसले देशलाई समृद्ध बनाउन नसक्ने ठोकुवा गरे।
देश विकासका लागि श्रमदान र श्रम संस्कृति अपरिहार्य रहेको उल्लेख गर्दै साम्पाङले नीति निर्माणसँगै श्रमलाई नजोडेसम्म वास्तविक समृद्धि असम्भव रहेको बताए। ‘लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नागरिक एकजुट हुनुपर्छ,’ उनले भने, ‘श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै दिगो विकास सम्भव छ।’
देश अहिले कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले सबैलाई पुनःनिर्माणमा जुट्न आह्वान समेत गरे। आगामी फागुनमा हुने निर्वाचनका विषयमा बोल्दै अध्यक्ष साम्पाङले आवधिक निर्वाचन नै लोकतन्त्रको आधार भएको र यसलाई भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। निर्वाचन नहुनु भनेको लोकतन्त्र अपहरणमा पर्नु सरह भएको उनको तर्क थियो।
























