कोशीका ८ सभापतिको स्पष्ट अडान : ‘विशेष महाधिवेशनको औचित्य छैन’

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १७:५७

विराटनगर । कोशी प्रदेशका नेपाली कांग्रेसका ८ जिल्लाका सभापतिहरूले वर्तमान राजनीतिक परिस्थितिमा विशेष महाधिवेशनको माग असान्दर्भिक, अवैधानिक र राजनीतिक रूपमा पनि गैरजिम्मेवार भएको ठहर गरेका छन् ।

उनीहरूले पार्टीलाई आन्तरिक विवाद र अनावश्यक बहसमा अल्झाउनेभन्दा पनि आसन्न आमनिर्वाचनतर्फ पूर्ण रूपमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु, झापाका देउमान थेवे, खोटाङका विष्णुकुमार राई, पाँचथरका रुपनारायण जबेगू, इलामका डम्बर खड्का, ओखलढुंगाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याहाङ सुब्बा र संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र उठिरहेको विशेष महाधिवेशनको बहसप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा मुलुकको समग्र राजनीतिक अवस्था अत्यन्त संवेदनशील मोडमा पुगेको र सरकारले आगामी फागुन २१ गतेका लागि आमनिर्वाचनको मिति सार्वजनिक गरिसकेको अवस्थामा कांग्रेसजस्तो जिम्मेवार दलले आन्तरिक शक्ति क्षय हुने गतिविधिमा ऊर्जा खर्चिन नहुने उल्लेख गरिएको छ । यस्तो अवस्थामा विशेष महाधिवेशनको माग गर्नु समयसापेक्ष नभएको भन्दै उनीहरुले त्यो माग राजनीतिक दृष्टिले उचित रहेको निष्कर्ष निकालेका छन् ।

जिल्ला सभापतिहरूले नेपाली कांग्रेसको विधान स्पष्ट रहेको स्मरण गराउँदै महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको बताएका छन् । विधानले नदिएको अधिकारको माग गर्नु पार्टी अनुशासन र संस्थागत प्रक्रियाविपरीत हुने उनीहरूको तर्क छ । त्यसमाथि पार्टीको नियमित १५ औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा अलग्गै विशेष महाधिवेशनको कुनै वैधानिक आधार नरहेको अडान उनीहरुको छ ।

विज्ञप्तिमा पुस १८ गते बसेको केन्द्रीय बैठकले २०८३ वैशाख मसान्तसम्म १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्ने स्पष्ट कार्यतालिका तय गरिसकेको तथ्य पनि स्मरण गराइएको छ । यस्तो अवस्थामा केन्द्रीय तहको अधिवेशन हुने गरी उठाइएको विशेष महाधिवेशनको प्रस्ताव पार्टी विधान र लोकतान्त्रिक अभ्यास दुवैका दृष्टिले निरर्थक रहेको उनीहरूको भनाइ छ ।

कोशीका १४ मध्ये ८ वटा जिल्लाका सभापतिहरूले मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा सिंगो पार्टी अन्य भेला, समारोह र आन्तरिक रस्साकस्सीमा अल्झिनु घातक हुने चेतावनी दिएका छन् । उनीहरूको आग्रह छ, ‘नेपाली कांग्रेसले अब कुनै पनि बहानामा चुनावी तयारीबाट ध्यान हटाउनु हुँदैन । संगठनलाई गाउँदेखि केन्द्रसम्म एकीकृत गरेर फागुन २१ को निर्वाचनमा सक्रिय रूपमा होमिनुपर्छ ।’

विज्ञप्तिमा पार्टीभित्र देखिन थालेका असन्तुष्टि, अविश्वास र विभाजनका संकेतप्रति चिन्ता व्यक्त गर्दै ती समस्या समाधानका लागि केन्द्रीय नेतृत्वले ढिलाइ नगरी पहल लिनुपर्ने माग पनि गरिएको छ । आन्तरिक मतभेद चुलिन दिए कांग्रेससहित समग्र लोकतान्त्रिक राजनीतिलाई नै क्षति पुग्ने उनीहरूको ठहर छ ।

विज्ञप्तिमा पार्टीलाई एक ढिक्का बनाएर चुनावी मैदानमा उत्रन सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरिएको छ । कोशीका जिल्ला सभापतिहरूको यो धारणालाई कांग्रेसभित्र बढ्दो विशेष महाधिवेशनको बहसका बीच आएको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.