राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २७, आइतबार ०६:०६

काठमाडौं । आधुनिक नेपालको जग बसाल्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज (आइतबार) देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदैछ ।

विसं १७७९ सालमा जन्मिएका शाहको जन्मजयन्ती प्रत्येक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ । पुस २७ लाई साझा इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्मरण गर्दै विविध कार्यक्रम आयोजना गरेर मनाउने चलन छ ।

राष्ट्र एकीकरणका प्रमुख अभियन्ता पृथ्वीनारायण शाहले पुर्‍याएको ऐतिहासिक योगदानको स्मरणस्वरूप आइतबार बिहान सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम छ । विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्ने गर्छन् ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेताहरू, पूर्वप्रधानमन्त्रीहरू तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको राप्रपाले जनाएको छ ।

पृथ्वीनारायण शाहको जन्मभूमि गोरखा जिल्लामा यो दिवस हरेक वर्ष विशेष महत्वका साथ मनाइँदै आएको छ । गोरखामा आयोजित कार्यक्रमहरूमा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहने गरेको छ ।

त्यस्तै, नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जंगी अड्डा परिसरमा अवस्थित राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे र चौबीसे राज्यहरूमा विभाजित नेपाललाई एकीकरण गर्ने महाअभियानको नेतृत्व गरेका थिए ।

सामाजिक, आर्थिक र भौगोलिक दृष्टिले अत्यन्तै जटिल परिस्थितिका बीच उनले जनताको सहयोग, समर्थन र सहभागितालाई साथमा लिएर एकीकरण अभियान अघि बढाए । २० वर्षको उमेरमा गद्दीआरोहण गरेका शाहले आन्तरिक द्वन्द्व र बाह्य शक्तिहरूसँग जुध्दै राष्ट्रलाई एक सूत्रमा बाँध्ने ऐतिहासिक कार्य सम्पन्न गरे ।

उनले विसं १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाली समाजलाई विविधताबीचको एकताको भावनामा बाँध्ने प्रेरणा दिने विश्वास गरिन्छ ।

यस दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्दछ । इतिहासका कठिन मोडमा मुलुकलाई एकताबद्ध बनाउने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई स्मरण गर्दै अहिलेका पुस्ताले जिम्मेवारीबोधका साथ देशप्रति समर्पित हुनुपर्ने आवश्यकता औँल्याइन्छ । विशेष गरी युवापुस्तामा मातृभूमिप्रतिको प्रेम, सेवा र उत्तरदायित्वको भावना विकास गराउन यस दिवसको महत्व झन् बढ्दो छ ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानका कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता मजबुत आधारमा उभिन सफल भएको इतिहासकारहरूको ठम्याइ छ । यही कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्येमा आफ्नो पहिचान जोगाउन सफल भएको मानिन्छ ।

शाहले आफ्नो शासनकालमा दिएका दिव्योपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उनको भनाइलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका सन्दर्भमा आज पनि मार्गदर्शकका रूपमा लिइन्छ । भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’को संज्ञा दिनुलाई उनको दूरदर्शी सोचको उदाहरणका रूपमा स्मरण गरिन्छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको यात्रामा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । इतिहासबाट प्रेरणा लिँदै वर्तमान र भविष्यका चुनौतीहरूको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्ने सन्देश आजको दिनले पुनः स्मरण गराएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.