नेपाली कांग्रेसको शक्ति संघर्ष उत्कर्षमा, संस्थापनको असहमतिबीच विशेष महाधिवेशन सुरु हुँदै

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ०६:५४

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि दबाब र असन्तोषको रूपमा जम्दै आएको शक्ति संघर्ष अब औपचारिक रूपमै सतहमा आएको छ ।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश शीर्ष नेताको स्पष्ट विरोध हुँदाहुँदै पनि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको आह्वानमा कांग्रेसको विशेष महाधिवेशन आज (आइतबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । यो विशेष महाधिवेशन सोमबारसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटनअघि आइतबार देशका विभिन्न क्षेत्रबाट निस्किएका महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको र्‍याली काठमाडौंका विभिन्न भाग परिक्रमा गर्दै भृकुटीमण्डपमा पुग्ने कार्यक्रम तय गरिएको छ । र्‍याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुनेछ ।

आयोजक पक्षले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो दिएको भए पनि उनी कार्यक्रममा सहभागी हुने सम्भावना न्यून देखिएको छ । देउवाको अनुपस्थितिले नै पार्टीभित्रको गहिरो मतभेद र टकरावलाई स्पष्ट रूपमा उजागर गर्ने संकेत देखिएको छ ।

विशेष महाधिवेशनको आह्वान कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका हुन् । उनीहरूले पार्टीभित्र निर्णय प्रक्रियामा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको, विधानअनुसारको समयमै महाधिवेशन नहुने, नेतृत्व जवाफदेही नबनेको र कार्यकर्ताको भावनालाई लगातार बेवास्ता गरिएको आरोप लगाउँदै विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएका छन् ।

यही असन्तोषलाई संस्थागत रूप दिन ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन बोलाइएको हो । विशेष महाधिवेशन आयोजक समितिले भने आफ्नो पक्षमा अहिले ६० प्रतिशतसम्म महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।

शनिबार भृकुटीमण्डपमै आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका नेताहरूले प्रारम्भमा असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन भए पनि त्यसपछि पनि समर्थन बढ्दै गएको दाबी गरेका हुन् । उनीहरूका अनुसार अहिले पनि हस्ताक्षर गर्ने र सार्वजनिक रूपमा विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम जारी छ ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पत्रकार सम्मेलनमा बोल्दै पार्टीभित्र परिवर्तनको चाहना व्यापक रूपमा फैलिएको बताए । उनका अनुसार विशेष महाधिवेशन कुनै गुट वा व्यक्तिविशेषको स्वार्थका लागि नभई पार्टीलाई वैधानिक, पारदर्शी र गतिशील बनाउन आवश्यक कदम हो ।

शिवाकोटीले अझै पनि विभिन्न जिल्लाबाट थप महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा आउँदै गरेको जानकारी दिए । आयोजक पक्षका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङलगायत जिल्लाबाट पछिल्लो समय थप प्रतिनिधिहरू खुलेर विशेष महाधिवेशनको समर्थनमा उभिएका छन् ।

यसले प्रारम्भमा देखिएको ५४ प्रतिशत समर्थनलाई अझै बलियो बनाउँदै लगेको उनीहरूको दाबी छ । कांग्रेसभित्र लामो समयदेखि देउवा नेतृत्वसँग नजिक मानिएका नेताहरू समेत बिस्तारै असन्तुष्टि व्यक्त गर्दै विशेष महाधिवेशनको पक्षमा उभिन थालेका छन् ।

यसको एउटा उदाहरणका रूपमा सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठको भूमिकालाई हेरिएको छ । श्रेष्ठले सार्वजनिक रूपमै विशेष महाधिवेशनको पक्षमा आफू उभिएको घोषणा गरेपछि संस्थापन पक्षभित्र समेत तरंग पैदा भएको छ ।

उनको यो कदमलाई कांग्रेसभित्रको शक्ति सन्तुलन परिवर्तनतर्फको संकेतका रूपमा हेरिएको छ । उता संस्थापन पक्ष भने विशेष महाधिवेशनलाई असंवैधानिक र पार्टी विधानविपरीत भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

सभापति देउवानिकट नेताहरूले विधानअनुसार नियमित महाधिवेशनको समय अझै नआएको, विशेष महाधिवेशनको आवश्यकता नरहेको र यसले पार्टीलाई झन् विभाजनतर्फ धकेल्ने तर्क गर्दै आएका छन् । तर, आयोजक पक्षले भने विधानले नै निश्चित प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको भन्दै आफ्नो कदम पूर्णतः वैधानिक रहेको जिकिर गरेको छ ।

आइतबारबाट सुरु हुने विशेष महाधिवेशनमा कांग्रेसको भावी नेतृत्व, संगठन संरचना र राजनीतिक दिशामाथि गम्भीर बहस हुने बताइएको छ । विशेष महाधिवेशन सफल भए पार्टीभित्रको शक्ति सन्तुलनमा ठूलो परिवर्तन देखिन सक्ने विश्लेषण भइरहेको छ । सभापति देउवा स्वयं अनुपस्थित रहे पनि बहुमत प्रतिनिधिको उपस्थितिमा महाधिवेशन अघि बढे कांग्रेसभित्रको आन्तरिक राजनीतिमा नयाँ मोड आउने सम्भावना बलियो बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.