
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति वा प्रधानमन्त्रीजस्ता पदले आफूलाई कहिल्यै लोभ्याउन नसकेको स्पष्ट गर्दै पार्टी एकताको पक्षमा निरन्तर उभिरहने प्रतिबद्धता दोहोर्याएका छन् ।
कांग्रेसको विशेष महाधिवेशनको संघारमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले कांग्रेस विभाजनतर्फ जान नहुनेमा आफू गम्भीर र सचेत रहेको बताएका हुन् । कोइरालाले कांग्रेसभित्र आफूले उठाइरहेका कतिपय शैली र धारणा सबैलाई रुचिकर हुन नसक्ने स्वीकार गरे । तर, आक्रोश र अधैर्यतामा नभएर शान्त र सन्तुलित ढंगले पार्टी रूपान्तरणको अभियान अघि बढाउन चाहेको उनको भनाइ छ ।
आफूमा कुनै निजी महत्त्वाकांक्षा नरहेको स्पष्ट पार्दै उनले मन्त्री, महामन्त्रीदेखि सभापति र प्रधानमन्त्रीसम्मका अवसरले विगतमा पनि आकर्षित नगरेको उल्लेख गरे । अवसर आए पनि आफूले रुचि नदेखाएको भन्दै उनले पदलाई नभएर मूल्यमान्यता एवं सिद्धान्तलाई प्राथमिकता दिएको सन्देश दिएका छन् ।
आफ्नो राजनीतिक यात्राको आधार परिवारबाट पाएको शिक्षा र जीवन दर्शन भएको उल्लेख गर्दै कोइरालाले यही दर्शनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाउन प्रेरित गरिरहेको बताए । यो यात्रामा एकातिर पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नु परेको र अर्कोतिर परिवर्तन चाहने युवा पुस्ताको असन्तोषको सामना गर्नुपरेको उनको भनाइ छ ।
ऊर्जावान र जोसिला युवाहरूको अपेक्षा बुझेर पनि आफूले संयम नछोडेको उनले बताए । कांग्रेस विशेष महाधिवेशनको विषयमा आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा लिखित रूपमा राखिसकेको जानकारी दिँदै कोइरालाले अब पार्टीभित्र सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
कांग्रेस एकताबद्ध भएर अगाडि बढ्न सके मात्रै समर्थक, शुभचिन्तक र अन्तर्राष्ट्रिय समुदायमा विश्वास जगाउन सकिने उनको तर्क छ । विभाजनको संकेतले पार्टीको विश्वसनीयता कमजोर बनाउनेतर्फ उनले सबैलाई सोच्न आग्रह गरे ।
महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहरको रूपमा व्याख्या गर्दै कोइरालाले उनीहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यसहित काठमाडौं आएको बताए । पार्टी विधानको कार्यान्वयन गर्दै कांग्रेसको हित र एकताबद्ध भविष्यका लागि ऐतिहासिक दायित्व निर्वाह गर्न प्रतिनिधिहरू सक्षम रहेको विश्वास उनले व्यक्त गरे ।
पार्टीभित्र देखिएको गतिरोध समाधानका लागि आफूले पछिल्ला दिनहरूमा निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै डा. कोइरालाले निकास ननिस्किँदासम्म आफ्नो संघर्ष जारी रहने प्रण गरे । कांग्रेस एकताका लागि उठेको यो आवाज कमजोर नपर्ने र आफू अन्तिमसम्म त्यसैमा दृढ रहने उनको सन्देश छ ।
























