
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानै ढंग र आनीबानीमा अघि बढेर नयाँ यात्रा सम्भव नहुने स्पष्ट पारेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले समय र परिस्थितिअनुसार सोच, शैली र व्यवहार बदल्नैपर्ने अवस्था आएको बताएका हुन् । शर्माले अहिलेको राजनीतिक र सामाजिक परिस्थितिले पार्टीलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्दै अब पुरानै तरिकाले नयाँ भविष्य निर्माण गर्न नसकिने धारणा राखे ।
नयाँ परिस्थिति सामना गर्न नयाँ सोच अनिवार्य भएको उनको भनाइ थियो । पुरानै बानी, पुरानै कार्यशैली र पुरानै दृष्टिकोण बोकेर अघि बढ्दा कांग्रेस मात्र नभएर देशकै परिवर्तन सम्भव नहुने उनले बताए ।
उनले महाधिवेशनमा देखिएको उपस्थितिलाई सामान्य औपचारिकता नभई परिवर्तनको चाहनासहितको उपस्थितिको रूपमा व्याख्या गरे । यो उपस्थितिले कांग्रेसलाई मात्रै नभएर समग्र देशलाई बदल्ने सोच बोकेको संकेत दिएको शर्माको भनाइ थियो ।
महामन्त्री शर्माले कांग्रेस अहिले बाह्य प्रतिस्पर्धाभन्दा पनि आफ्नै आन्तरिक चुनौतीसँग जुधिरहेको स्वीकार गरे । पार्टीभित्रका कमजोरी, असन्तुष्टि र अपेक्षालाई सम्बोधन नगरी विश्वसनीय विकल्प बन्न नसकिने भन्दै उनले आत्मआलोचना र सुधारको मार्ग रोज्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार समयले कांग्रेसलाई निर्णायक मोडमा ल्याएको छ । परिवर्तन नचाहने प्रवृत्तिले पार्टीलाई पछाडि धकेल्ने खतरा रहेको उनले बताए । त्यसैले नेतृत्व संगठन र सोच तीनै तहमा नयाँपन आवश्यक रहेकोमा शर्माको जोड थियो ।
























