
उदयपुर । नेपाली सेनाले ऐतिहासिक गढी र किल्लाको संरक्षण तथा राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यसहित उदयपुरगढीदेखि चौदण्डीगढीसम्म आयोजना गरेको ९७ किलोमिटर लामो पदयात्रा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सफलतापूर्वक सम्पन्न भएको छ ।
बोक्सेस्थित पशुपति प्रसाद गणको आयोजनामा ५ दिनसम्म चलेको दोस्रो संस्करणको यो पदयात्रा आइतबार चौदण्डीगढीमा विशेष कार्यक्रमसहित समापन गरिएको हो । पुस २३ गते सुरु भएको पदयात्रा महाभारत श्रृङ्खलाका विभिन्न भू–भाग पार गर्दै ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पुगेर टुंगिएको थियो ।
उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी ४ स्थानीय तह समेटिएको यात्रामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सदस्यहरूको सहभागिता रहेको थियो । ऐतिहासिक गढी–किल्लाको संरक्षण र तिनको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले पदयात्रा आयोजना गरिएको पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजजंग कार्कीले बताए ।
उनका अनुसार यस्तो अभियानले भावी पुस्तालाई इतिहाससँग जोड्ने र राष्ट्रिय एकताको भावना बलियो बनाउने काम गर्छ । श्री नं. १८ बाहिनी अड्डा भुल्के ब्यारेकका बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले ऐतिहासिक सम्पदाको संरक्षण तीनै तहका सरकारको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले गढी, किल्ला र पुराना पदमार्गको ऐतिहासिक महत्व उजागर गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
पदयात्राको क्रममा बाटोमा पर्ने विद्यालयहरूमा नेपालको इतिहास, राष्ट्रनिर्माता पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवससँग सम्बन्धित हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन र कविता वाचन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । ५ दिनमा उदयपुरगढी–ढुङ्ग्रे, ढुङ्ग्रे–पुवारे भञ्ज्याङ, पुवारे भञ्ज्याङ–निपाने साउने, निपाने साउने–सिम्ले हुँदै चौदण्डीगढीसम्म कुल ९७ किलोमिटर यात्रा तय गरिएको हो ।
समापन समारोहमा विद्यालयस्तरीय प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै पदयात्रामा सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । त्रियुगा नगरपालिका प्रमुख वसन्तकुमार बस्नेत र चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाले सहभागी टोलीलाई स्वागत गर्दै यस किसिमका कार्यक्रमले ऐतिहासिक स्थलको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
५४ वर्षअघि उदयपुरको सदरमुकाम रहेको उदयपुरगढी ऐतिहासिक रूपमा महत्वपूर्ण भए पनि पछिल्ला वर्षमा ओझेलमा परेको अवस्थामा यस्ता गतिविधिले यसको पहिचान पुनर्जीवित गर्न सहयोग पुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । नेपाली सेनाको निरन्तर पहलले उदयपुरगढी र चौदण्डीगढी क्षेत्रलाई इतिहास र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार हुँदै गएको उनीहरूको धारणा छ ।























