भृकुटीमण्डपमा कांग्रेसभित्रको असन्तोष खुला, विशेष महाधिवेशनको बन्दसत्र हुँदै

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार ०६:३३

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र लामो समयदेखि दबिएको असन्तोषलाई खुला रूपमा सतहमा ल्याएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज (सोमबार) आयोजना गरिएको छ । जसलाई पार्टीभित्रको भावी दिशा र नेतृत्व संरचनाका लागि निर्णायक रूपमा हेरिएको छ ।

विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म महाधिवेशन प्रतिनिधिको नाम दर्ता तथा खाजाको समय तोकिएको छ । सोही तालिकाअनुसार बिहान १० बजेपछि बन्दसत्र औपचारिक रूपमा सुरु गरिनेछ ।

आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको यकिन संख्या पनि सोमबार नै सार्वजनिक गरिने उनको भनाइ छ । आइतबार सम्पन्न उद्घाटनसत्रले भने कांग्रेसभित्रको यथार्थ चित्र स्पष्ट रूपमा देखाएको छ ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा अपेक्षाभन्दा बढी महाधिवेशन प्रतिनिधिको उपस्थिति देखिनुका साथै पार्टी नेतृत्वप्रति खुलेर व्यक्त भएका असन्तोषका स्वरहरूले पनि विशेष महाधिवेशन सामान्य औपचारिकतामा सीमित नरहने संकेत दिएको छ । ‘ग्रासरुट’ तहमा लामो समयदेखि सञ्चित असन्तोष अब विस्फोटको अवस्थामा पुगेको अनुभूति उद्घाटनसत्रभर देखिएको थियो ।

पार्टीभित्र संस्थागत निर्णय प्रक्रिया कमजोर बन्दै गएको, नेतृत्व सीमित व्यक्तिमा केन्द्रित भएको र कार्यकर्ताको भावना बेवास्ता गरिएको आरोपहरू पृष्ठभूमिमा रहँदा बन्दसत्रमा ती विषयहरू थप तीव्र रूपमा उठ्ने अनुमान गरिएको छ । विशेष महाधिवेशनलाई कांग्रेसभित्रको आन्तरिक सुधार र पुनर्संरचनाको अवसरका रूपमा लिइए पनि बन्दसत्रमा उठ्ने प्रस्ताव र बहसले पार्टी नेतृत्वलाई कति दबाबमा पार्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।

बन्दसत्रबाट कांग्रेसले आफ्ना आन्तरिक समस्या स्वीकारेर समाधानतर्फ अघि बढ्छ कि यथास्थितिलाई नै निरन्तरता दिन्छ भन्ने प्रश्नको उत्तर खोजिनेछ । यही कारण विशेष महाधिवेशनको बन्दसत्रलाई कांग्रेसको आगामी राजनीतिक यात्राको दिशानिर्देशक क्षणका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.