
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज सोमबारदेखि बन्दसत्रका कार्यक्रमहरू सुरु हुँदैछन्। आइतबार भृकुटीमण्डपमा भव्य उद्घाटन सत्र सकिएसँगै आजबाट नीतिगत र नेतृत्वका विषयमा घनीभूत छलफल हुन लागेको हो।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार आज बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको दर्ता समय तोकिएको छ। दर्ता प्रक्रिया सम्पन्न भएलगत्तै भृकुटीमण्डपस्थित हलमा बन्दसत्र प्रारम्भ हुने तयारी छ।
बन्दसत्रको सुरुमा महाधिवेशनको कार्यविधि निर्माण गरिनेछ। त्यसपछि सहभागी प्रतिनिधिहरूलाई नौ वटा समूहमा विभाजन गरी चार वटा मुख्य विषयवस्तुमा केन्द्रित रहेर विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार, समसामयिक राजनीतिक विषय, नेतृत्व परिवर्तनको सम्भावना र प्रक्रिया छलफल गराइने तालिका छ।
यस पटकको महाधिवेशनमा नीतिसँगै नेतृत्वको विषयले पनि प्राथमिकता पाएको छ। समूहगत छलफलका क्रममा नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्नेबारे बृहत् बहस हुने संयोजक पोखरेलले जानकारी दिए। यदि छलफलबाट नेतृत्व परिवर्तनको पक्षमा बहुमत देखिएमा नयाँ निर्वाचन समिति गठन गरी निर्वाचनको प्रक्रिया अघि बढाइने बताइएको छ।
महाधिवेशनका कारण आज बिहानैदेखि भृकुटीमण्डप र आसपासका क्षेत्रमा कांग्रेसी कार्यकर्ता र प्रतिनिधिहरूको बाक्लो उपस्थिति छ।
























