
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिक सुरक्षासँगै डिजिटल माध्यमबाट फैलिन सक्ने मिथ्या सूचनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ। विराटनगरमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले यस्तो बताएका हुन्।
सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह र गलत सूचना रोक्न नेपाली सेना, नेपाल प्रहरी र दूरसञ्चार प्राधिकरणको प्राविधिक टोलीले आयोगमै बसेर काम गरिरहेको सचिव राउतले जानकारी दिए। आयोगले फेसबुक र एक्स (ट्विटर) जस्ता प्लेटफर्मसँग समेत समन्वय गरी गलत सूचना नियन्त्रणका लागि पहल गरिरहेको छ।
आयोगका अनुसार माघ २ गते देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। १६५ वटै निर्वाचन क्षेत्रका लागि बजेट स्वीकृत भइसकेको छ भने जिल्ला निर्वाचन कार्यालयहरूलाई ३७ प्रकारका सामग्री खरिद गर्ने अख्तियारी समेत दिइएको छ।

कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले भौगोलिक विकटता र खुल्ला सिमानासँगै सामाजिक सञ्जालको सुरक्षा यसपटकको मुख्य चुनौती रहेको उल्लेख गरे। २८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा ३५ लाख ७४ हजारभन्दा बढी मतदाता छन्, जसका लागि १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र कायम गरिएको छ।
दुई दिने अभिमुखीकरण कार्यक्रममा निर्वाचनसँग सम्बन्धित संवैधानिक व्यवस्था, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा र मतगणना प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गरी अभ्यास गराइने छ।

























