बन्दसूचीबाट ८५ उम्मेदवार बाहिरिए

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार ०६:५८

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उम्मेदवार स्वयं वा उनीहरूका वारेस उपस्थित भई नाम फिर्ता लिएसँगै बन्दसूचीबाट उनीहरु बाहिरिएका हुन् । आयोगका अनुसार नाम फिर्ता लिनेहरूमा जनता समाजवादी पार्टी (जसपा)का २१ जना र जनमत पार्टीका २० जना उम्मेदवार रहेका छन् ।

यी २ दलबाट सबैभन्दा धेरै उम्मेदवारले बन्दसूचीबाट नाम हटाएका हुन् । यसबाहेक नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लगायत अन्य दलका उम्मेदवारहरूले पनि समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएपछि बन्दसूची पुनः व्यवस्थापन गर्नुपर्ने अवस्था आएको र प्राथमिकता क्रम मिलाउनका लागि केही उम्मेदवारले नाम फिर्ता लिएको सम्बन्धित दलले जनाएको छ । दलहरूबीचको आन्तरिक समायोजन र सूची सन्तुलनका कारण पनि नाम फिर्ताको संख्या बढेको बताइएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ राजनीतिक दलले पुस १३ र १४ गते निर्वाचन आयोगमा बन्दसूची पेस गरेका थिए । उम्मेदवारहरूको नाम फिर्ता प्रक्रियापछि अन्तिम बन्दसूची सार्वजनिक गर्दा संख्या र क्रम केही हदसम्म परिवर्तन हुन सक्ने आयोगको भनाइ छ ।

संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.