
काठमाडौं । देशभर आज (मंगलबार) राष्ट्रिय भक्का दिवस मनाइँदै छ । भक्का राजवंशी समुदायको मौलिक पहिचानसँग जोडिएको परम्परागत परिकार हो ।
हरेक वर्ष पुस २९ गते मनाइने भक्का दिवसले पूर्वी तराईमा जन्मिएको एउटा स्थानीय खानालाई राष्ट्रिय पहिचान दिलाउने काम गरेको छ । कोच–राजवंशी समुदाय तथा पूर्वी तराईका आदिवासी समुदायले पुस्तौँदेखि बनाउँदै र खाँदै आएको भाक्का सुरुमा यही समुदायमा मात्र सीमित थियो ।
तर, समयसँगै यसको स्वाद, सरलता र स्वास्थ्यका गुणका कारण भाक्का अन्य जातजाति र समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । यही बढ्दो लोकप्रियता र सांस्कृतिक महत्वलाई संस्थागत गर्न पुस २९ लाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउन थालिएको हो ।
यो वर्ष पनि पूर्वी नेपालसहित काठमाडौंलगायत विभिन्न स्थानमा भाक्काको प्रवर्धन, प्रदर्शनी, स्वाद परीक्षण तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेर दिवस मनाइँदै छ । भाक्का एउटा परिकार मात्र नभई राजवंशी समुदायको इतिहास, जीवनशैली र संस्कृतिको प्रतिनिधि हो । जसलाई जोगाएर नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता बनेको सरोकारवाला बताउँछन् ।
भाक्का विशेषगरी हिउँद याममा खाने परिकार हो । चामलको पिठोलाई हल्का पानीसँग मिसाएर बाफमा पकाइने यो परिकार सामान्यतया टमाटर, तिल वा खुर्सानीको चटनीसँग खाने गरिन्छ । तेल र मसला कम प्रयोग हुने भएकाले भाक्का सजिलै पच्ने, हल्का र स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छ । यही कारणले भाक्का पूर्वी नेपालको मात्रै नभएर नेपाली भान्साको एक महत्वपूर्ण परिकारका रूपमा चिनिन थालेको छ ।
संस्कृतिकर्मीहरू भाक्काको मौलिक स्वाद, बनाउने तरिका र सांस्कृतिक पहिचान जोगाउन विशेष ध्यान दिनुपर्ने बताउँछन् । आधुनिकताका नाममा यसको मौलिकता हराउन नदिनु र नयाँ पुस्तालाई यसको ऐतिहासिक एवं सांस्कृतिक महत्वबारे सचेत गराउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
राष्ट्रिय भाक्का दिवसले स्थानीय खानाको सम्मान, आदिवासी समुदायको पहिचान र नेपाली खाद्य संस्कृतिको विविधतालाई उजागर गर्ने अवसर दिएको छ । भाक्काजस्तै अन्य परम्परागत परिकारको संरक्षण र प्रवर्धन गर्न यस्ता दिवसहरूले दीर्घकालीन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।























