
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि बसेको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकिएको छ। बालुवाटारमा भएको उक्त छलफलमा दुवै पक्षले आ-आफ्ना अडान र प्रस्तावहरू राखे पनि कुनै ठोस सहमति जुट्न नसकेको हो।
वार्ता टोलीका सदस्य एवं विशेष महाधिवेशन पक्षधर नेता मधु आचार्यले पहिलो चरणको छलफलमा कुनै सहमति हुन नसकेको र अब दोस्रो चरणको वार्तामा बस्ने वा नबस्ने भन्ने विषय शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै टुङ्गो लाग्ने जानकारी दिएका छन्।
विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसहित नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी थिए। त्यस्तै, संस्थापन र शेखर कोइराला समूहको प्रतिनिधित्व गर्दै नेताहरू बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका थिए। वार्तामा विशेष महाधिवेशन पक्षधरले विधान सम्मत महाधिवेशन र नीतिगत स्पष्टताको माग राखेका छन् भने संस्थापन पक्षले वार्तामा अस्वाभाविक मागहरू आएका कारण तत्काल निकास भेट्न कठिन भएको टिप्पणी गरेको छ।
पार्टीभित्रको बढ्दो ध्रुवीकरणलाई कम गर्न दुवै पक्ष वार्ताको टेबलमा बसे पनि पहिलो प्रयासमै सहमति हुन नसक्दा कांग्रेसको आन्तरिक राजनीति थप अन्योलपूर्ण बनेको छ। विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढिरहेका बेला भएको यो वार्तालाई चासोका साथ हेरिए पनि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा सहमतिको मिलनविन्दु फेला पर्न सकेको छैन। अब नेताहरूबीच हुने आन्तरिक छलफलले मात्र आगामी वार्ता र पार्टीको भविष्यको दिशा तय गर्ने देखिएको छ।
























