
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी उम्मेदवारी मनोनयनको समय दुई घण्टा थप गरिएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ताको समय प्रतिनिधिहरूको आग्रह र प्राविधिक तयारीका कारण साँझ ५ बजेसम्मका लागि बढाइएको हो।
भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ कार्यसमितिका लागि निर्वाचन समितिले पदअनुसारको उम्मेदवारी शुल्क समेत सार्वजनिक गरेको छ। जसअनुसार सभापति पदका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै, केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्न १० हजार रुपैयाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।
एकातिर संस्थापन पक्षका नेताहरूसँग सहमतिको प्रयासमा निरन्तर छलफल भइरहे पनि अर्कोतर्फ विशेष महाधिवेशन पक्षधरले निर्वाचनका कार्यक्रमहरूलाई धमाधम अघि बढाएका छन्। पटक–पटकका वार्ताहरू निष्कर्षविहीन भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो। थपिएको समय सीमाभित्र उम्मेदवारी दर्ता गरिसक्ने र आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी छ।
























