झापामा टुंग्यायो हर्क साम्पाङको पार्टीले उम्मेदवार

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १८:२३

विराटनगर । धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई)को नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापाका ५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ ।

पार्टी दर्तापछि देशव्यापी रूपमा संगठन विस्तार र चुनावी तयारीमा सक्रिय रहेको श्रम संस्कृति पार्टीले झापालाई रणनीतिक रूपमा महत्वपूर्ण जिल्ला मानेर उम्मेदवार चयन गरेको जनाएको छ । पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राईलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

झापा क्षेत्र नम्बर २ बाट केशव भण्डारी, क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिना, क्षेत्र नम्बर ४ बाट अमृता राई र क्षेत्र नम्बर ५ बाट शिभम सोरानी मगरलाई उम्मेदवार बनाउने निर्णय भएको हो । यी सबै निर्णय पार्टीको केन्द्रीय तहमा छलफल गरेर अन्तिम रूप दिइएको जनाइएको छ ।

उम्मेदवार टुंगो लागेपछि झापाका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरू पार्टी अध्यक्ष साम्पाङलाई भेट्न धरान पुगेका थिए । भेटका क्रममा आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण, स्थानीय मुद्दा र श्रम संस्कृतिको राजनीतिक एजेन्डाबारे छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

अध्यक्ष साम्पाङले उम्मेदवारहरूलाई जनताको दैनिक जीवनसँग जोडिएका मुद्दा उठाउन, श्रमको सम्मान र इमानदार नेतृत्वलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिएका थिए । निर्वाचन आयोगमा पार्टी दर्ता भएसँगै साम्पाङ देशव्यापी चुनावी अभियानमा सक्रिय छन् ।

विभिन्न जिल्लामा आयोजना गरिएका सभासभामा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिन थालेको छ । लामो समयदेखि स्थापित दलहरूप्रति असन्तुष्टि बढिरहेका बेला श्रम संस्कृति पार्टीले फरक राजनीतिक विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्न खोजेको देखिन्छ ।

साम्पाङले सार्वजनिक रूपमा गर्दै आएका भाषण र अभिव्यक्तिमा ‘हर्कवाद’लाई विकासको आधारका रूपमा व्याख्या गर्दै आएका छन् । उनका अनुसार भाषण र नाराभन्दा काम, श्रम र इमानदारीबाट मात्रै देशको वास्तविक विकास सम्भव छ । उनले श्रम संस्कृतिलाई राज्य सञ्चालनको मूल आधार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.