
काठमाडाैं । मुलुकको प्रधानमन्त्रीकाे उम्मेदवार बन्ने गरी महामन्त्री गगनकुमार थापालाई अघि सार्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । मंगलबार साँझ जारी बन्दसत्रमा बोल्दै शर्माले आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रधानमन्त्री बन्ने गरी थापालाई अघि सार्ने उनले बताएका हुन् ।
‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ। बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी फागुन २१ गते हार्दिक ढंगले लोकतान्त्रिक ढंगले स्वस्थ्य ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ,’ उनले भने, ‘र नेपाली कांग्रेस पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्लतिर लिएर आउँदैछौं ।’
विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ । बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।
























