
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशन अन्तर्गत थापाले बुधबार आफ्नो मनोनयन दर्ता गराएका हुन्।
निर्वाचन समिति स्रोतका अनुसार, निर्धारित समयभित्र सभापति पदका लागि थापाको मात्र एकल उम्मेदवारी परेको छ। थापासँगै अन्य सबै पदाधिकारी पदहरूमा पनि मनोनयन दर्ता भइसकेको समितिले जनाएको छ। सभापति शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला पक्षले यो महाधिवेशनलाई मान्यता नदिएका कारण पदाधिकारी तहमा थापा समूहको मात्रै उम्मेदवारी परेको बुझिएको छ।
यसअघि बुधबार बिहान सहमतिको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सभापति देउवासँग वार्ता गरेका थिए। तर, नेतृत्व हस्तान्तरण र कानुनी जटिलताका विषयमा कुरा नमिलेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो। उम्मेदवारी दर्ता गरेलगत्तै महामन्त्रीद्वय थापा र शर्मा अहिले आगामी कानुनी प्रक्रिया र रणनीतिबारे कानुनविद्हरूसँग परामर्शमा जुटेका छन्।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयनको समय सकिएको छ। समितिले दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आजै दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। संस्थापन पक्षको बहिष्कारका बीच अघि बढेको यो निर्वाचन प्रक्रियाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई नयाँ मोड दिएको छ।
























