
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा कांग्रेस नेताहरू गुरुराज घिमिरे र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। सभापति पदका लागि भने गगन थापाको मात्र एकल उम्मेदवारी परेको जानकारी प्राप्त भएको छ।
यसैबीच, पार्टीभित्र सहमतिको प्रयासका लागि बुधबार बिहान सभापति शेरबहादुर देउवासँग गगन थापा र विश्वप्रकाश शर्माले वार्ता गरेका थिए। तर उक्त वार्ता सफल हुन नसकेपछि दुवै महामन्त्रीहरू कानुनविद्हरूसँग परामर्शमा जुटेका छन्। निर्वाचन समितिले उम्मेदवारहरूको आधिकारिक नामावली आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ।
























