कांग्रेस कसैको प्राइभेट कम्पनी होइन, कसैले हटाउँदैमा हट्दैनौँ: गगन थापा

Share this
830shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १७:१०

काठमाडौँ । संस्थापन पक्षबाट कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी कसैको निजी कम्पनी नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले आफूहरूलाई कारबाही गर्ने निर्णयको कडा प्रतिवाद गरेका हुन्।

सम्बोधनका क्रममा थापाले देउवा पक्षलाई प्रश्न गर्दै कति समयसम्म देशभरका कांग्रेस कार्यकर्तालाई अल्मल्याउने हो भन्दै चुनौती दिए। देउवा पक्षले वार्ता र छलफलको बहानामा अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको आरोप समेत उनले लगाए। ‘हामीलाई कारबाही गरेको सुनेका छौँ, तर यो पार्टी कसैको प्राइभेट कम्पनी होइन,’ थापाले भने, ‘म ९ कक्षामा पढ्दादेखि कांग्रेस भएको हुँ, २०४६ र २०६२/०६३ को आन्दोलनको नेतृत्व गरेको मान्छे हुँ, कसैले हटायौँ भनेर म हट्नेवाला छैन।’

विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई धैर्य र संयमता अपनाउन आग्रह गर्दै थापाले यो लडाइँ र अभियान भएको बताए। उनले यो महाधिवेशनले गर्ने निर्णय नै आधिकारिक हुने र निर्वाचन आयोगले त्यसलाई मान्यता दिने दाबी गरे। ‘कांग्रेस यहीँ छ र यहीँ रहन्छ,’ उनले भने, ‘अब निर्णय गर्ने जिम्मा कार्यकर्ताको हातमा छ।’ थापाले अब सर्वसहमतिबाटै नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने उद्घोष समेत गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.