
काठमाडौं । नेपाली काँग्रेस विभाजन भएको छ । नेतृत्व परिवर्तन र रूपान्तरणको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा तयार नभएपछि नेपाली काँग्रेस विभाजन भएको छ ।
काँग्रेस सभापति देउवा समूहको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुर अन्सारीलाई ५ वर्षका लागि कारबाही गरेको छ ।
विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।
देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर देउवा पद छोड्न तयार भएनन् ।
पार्टी विभाजन भएपछि संस्थापन पक्षले महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेस भएको छ ।
काँग्रेस संस्थापनले तीनै जना नेतालाई ५ वर्षका लागि निष्कासन गरिएको पत्र आयोगमा पेस गरेको हो ।
गगन–विश्वले यसअघि नै आफूहरूले विशेष महाधिवेशन गरिरहेको र त्यसबाट नयाँ नेतृत्व चयन हुने ब्यहोराको पत्र आयोगमा बुझाएका थिए ।
पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले काँग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए । ‘मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो,’ थापाले भने । थापाले महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गरिसकेको पनि बताए । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेर मूलधार आफैँसँग रहेको पुष्टि गर्ने दाबी उनको थियो ।
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्त नेपाली काँग्रेस फुट्दा लोकतन्त्र कमजोर हुने बताउँछन् । ‘अहिलेको स्थितिमा काँग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ, लोकतन्त्र संकटमा पर्छ, संविधान पनि संकटमा पर्न सक्छ,’ पन्तले भने,‘ काँग्रेसको महत्त्वपूर्ण भूमिका राष्ट्रिय राजनीति र लोकतन्त्रमा रहँदै आएको छ । त्यसैले दुवै पक्षका नेताहरूले गम्भीर भएर सोच्दै एकतालाई कायम राख्नुपर्छ र फुट्न दिनु हुँदैन ।’
अब के हुन्छ ?
काँग्रेसमा अब को आधिकारिक हुने भनेर लडाइँ हुनेछ । निर्वाचनको मुखमा देखिएको विवादले पार्टी र निर्वाचनलाई नै प्रभावित पार्ने सम्भावना छ । पार्टीको संस्थापन पक्ष निर्वाचन आयोग पुगिसकेको छ । विशेष महाधिवेशन पक्ष पनि निर्वाचन आयोग जानेछ । निर्वाचन आयोगले कुनै एउटा पक्षलाई आधिकारिता प्रदान गर्दा अर्को पक्ष सर्वोच्च अदालत पुग्नेछ ।
कानुनी प्रक्रियाले काँग्रेसको विवादलाई झन् बढ्नेछ । पार्टीको कार्यालयमा पनि आधिकारिताको विवाद देखिने निश्चित छ । निर्वाचनको मुखमा भएको विभाजनले लोकतन्त्रलाई कमजोर बनाउने नेताहरू बताउँछन् ।
























