
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पार्टीको शिर झुक्न नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार मध्यराति भृकुटीमण्डपमा निर्वाचित घोषित भएलगत्तै महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निभाउने बताएका हुन्।
‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन,’ थापाले भावुक हुँदै भने, ‘म इमानदारीपूर्वक भन्छु, जुन विश्वासका साथ तपाईंहरूले यो जिम्मेवारी सुम्पिनुभएको छ, म कसैको पनि शिर झुक्न दिने छैन। नेपाली कांग्रेसको शान राख्नेछु।’
सम्बोधनका क्रममा थापाले अहिलेको परिस्थितिमा विशेष महाधिवेशन रहर नभई बाध्यता भएको स्पष्ट पारे। “नेपाललाई दुखेको बेलामा र कांग्रेसलाई घाउ लागेको बेलामा यो जोखिम उठाउनै पर्थ्यो,’ उनले थपे, ‘मैले भन्दा पनि धेरै जोखिम तल्लो तहका साथीहरूले उठाउनुभएको छ।’
उनले निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्ने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनबाट निर्वाचित यो समिति नै वैधानिक भएको दाबी गरे। संविधान र कानुनअनुसार आयोगले आफूहरूलाई नै आधिकारिकता दिनेमा उनी ढुक्क देखिए।
























