कांग्रेस आधिकारिकता विवाद : गगन थापा नेतृत्वको समूहले आज दाबी पेश गर्ने

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १०:३०

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादसँगै पार्टीको आधिकारिकता सम्बन्धी कानुनी लडाइँ आजदेखि निर्वाचन आयोगमा सुरु हुँदैछ। विशेष महाधिवेशन पक्षधर समूहले आज बिहीबार आयोग पुगेर नयाँ कार्यसमितिको विवरण अद्यावधिकका लागि निवेदन दिने तयारी गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिको विवरण आयोगको अभिलेखमा दर्ता गर्न लागिएको हो। यो समूहले आफूहरूले पार्टीको विधान र कानुनी प्रक्रिया पूरा गरेको भन्दै आफू नै आधिकारिक कांग्रेस भएको दाबी गरेको छ।

विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। यदि निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएमा पार्टीको नाम, झण्डा र चुनाव चिह्न ‘रुख’ माथि यो समूहको वैधानिक अधिकार स्थापित हुनेछ।

यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने यो महाधिवेशनलाई सुरुदेखि नै अवैधानिक भन्दै आएको छ। संस्थापन पक्षले यसअघि नै निर्वाचन आयोगलाई पत्र लेखेर विशेष महाधिवेशनको कुनै वैधानिकता नरहेको जानकारी गराइसकेको छ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार दलको पदाधिकारी हेरफेर भएमा ३० दिनभित्र आयोगलाई जानकारी दिनुपर्ने व्यवस्था छ। सोही आधारमा थापा नेतृत्वको टोलीले आज आफ्नो दाबी पेश गर्न लागेको हो। आगामी निर्वाचनको मुखमा कांग्रेसभित्र देखिएको यो विभाजन र आधिकारिकताको लडाइँले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.