
विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसलले विराटनगर–३ स्थित ‘हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाज’ मा आबद्ध ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरी लौरो वितरण गरेकाे छ ।
कार्यक्रममा संस्थामा आबद्ध ४४ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए । ८० वर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई हिँडडुलमा सहजताका लागि लौरो वितरण गरिएको थियो । प्राईम अस्पतालको विशेषज्ञ टोलीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, मधुमेह (सुगर) जाँच र स्वास्थ्य परामर्श सेवा प्रदान गरेको थियो ।
निःशुल्क स्वास्थ्य परीक्षण र मधुमेह जाँच पछि ७० वर्षीया चन्द्रकला सुबेदीले खुसी व्यक्त गर्दै भने,’तीन महिनाअघि मधुमेह जाँच गराएको थिएँ। अहिले ठिक्क समयमा आफ्नै थलोमा निःशुल्क जाँच्ने अवसर मिल्यो, धेरै खुसी लागेको छ।”
हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजका अध्यक्ष जीवेन्द्रराज घिमिरेले लायन्स क्लब अफ विराटनगर सोसलले समाजकै भवनमा आएर सेवा प्रदान गरेकोमा आभार प्रकट गरे ।
सन् १९१७ मा अमेरिकाको सिकागोमा मेल्भिन जोन्सले स्थापना गरेको लायन्स क्लबले विश्वभर नै ‘मानवताको सेवा र समुदायलाई सशक्त बनाउने’ उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
वि.सं. २०७६ सालदेखि सुरु भएको ‘हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाज’ मा हालसम्म ६० वर्ष माथिका ७०३ जना ज्येष्ठ नागरिकहरू आबद्ध भइसकेका छन् ।























