विधिभन्दा बाहिरको निर्णय मान्दैनौँ:  कोइराला

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १३:४२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विधान र पद्धतिभन्दा बाहिर गएर गरिने कुनै पनि गतिविधिले वैधानिकता नपाउने स्पष्ट पारेका छन्। निर्वाचन आयोगमा संस्थापन पक्षको आधिकारिकता पुष्टि गर्न पुगेका कोइरालाले गगन थापा नेतृत्वको समूहलाई ‘पार्टीबाट चोइटिएको सानो हिस्सा’ को संज्ञा दिए।

कोइरालाले निर्वाचन आयोगलाई व्यक्ति नभई संस्था चिन्न आग्रह गरे। ‘कुनै पदाधिकारीले टुँडिखेलमा उभिएर भाषण गर्दैमा त्यो पार्टीको निर्णय हुन सक्दैन,’ उनले भने, ‘विधानले स्पष्ट भनेको छ- विशेष महाधिवेशन बोलाउने अधिकार प्रतिनिधिमा भए पनि त्यसको कार्यविधि र कार्यतालिका केन्द्रीय समितिले नै बनाउनुपर्छ।’ उनले प्रक्रिया मिचेर गरिएका निर्णयलाई ‘स्वेच्छाचारी’ भएको आरोप लगाए।

आयोगलाई प्रमाण बुझाउँदै कोइरालाले गगन थापा पक्षमा हस्ताक्षर गरेका भनिएकामध्ये ८८५ जना प्रतिनिधिले आफ्नो समर्थन फिर्ता लिएको दाबी गरे। ‘ती साथीहरूले गल्ती महसुस गरी पार्टी कार्यालयमा हस्ताक्षर फिर्ताको निस्सा बुझाइसकेका छन्,’ उनले भने, ‘अब आयोगसँग अल्पमतको कुन आधार बाँकी रहन्छ?’

उनले निर्वाचन आयुक्तको उदाहरण दिँदै आयोगको कार्यशैलीमाथि पनि प्रश्न उठाए। ‘आयुक्तले सडकमा गएर मनोनयन हुँदैन भन्दैमा आयोगले मान्छ? मान्दैन। त्यसरी नै संस्थागत निर्णयविनाको विशेष महाधिवेशनलाई आयोगले कसरी चिन्न सक्छ?’ कोइरालाको प्रश्न थियो। उनले बहुमत केन्द्रीय सदस्य र प्रतिनिधिहरू अहिले पनि मूल पार्टीमै रहेको दाबी गर्दै आयोगले लोकतान्त्रिक र कानुनी विधि अनुसार नै निर्णय दिनेमा आफू ढुक्क रहेको बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.