निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि गगन थापाले बोलाए केन्द्रीय समिति बैठक

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार ०९:४६

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता प्रदान गरेसँगै उनले पहिलो महत्वपूर्ण बैठक बोलाएका हुन् ।

बैठक आज बिहान ११:३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने तय भएको छ । बैठकमा मुख्य गरी दुईवटा एजेण्डामा छलफल हुने बताइएको छ: १. मुलुकको पछिल्लो विकसित राजनीतिक अवस्थाको समीक्षा । २. आगामी निर्वाचनका लागि पार्टीको रणनीतिक तयारी र उम्मेदवार छनोट प्रक्रिया ।

आयोगको निर्णय र देउवा पक्षलाई धक्का पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो । सोही महाधिवेशनको वैधानिकतालाई लिएर शेरबहादुर देउवा पक्षले प्रश्न उठाउँदै आयोगमा छुट्टै दाबी पेस गरेको थियो ।

तर, शुक्रबार निर्वाचन आयोगले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको समर्थन र विधानसम्मत प्रक्रियालाई आधार मान्दै थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गर्‍यो । आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न ‘रुख’ र ‘चारतारे झण्डा’ अब थापा नेतृत्वको आधिकारिक कांग्रेससँग रहने भएको छ ।

उम्मेदवार छनोटमा व्यस्त थापा आधिकारिकता पाएसँगै सभापति थापा आगामी चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुङ्गो लगाउन व्यस्त बनेका छन् । आजको बैठकले उम्मेदवार चयनका मापदण्ड र पार्टीको चुनावी घोषणापत्रका विषयमा पनि ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

विगत केही महिनादेखि नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्व विवादले आयोगको यो निर्णयसँगै नयाँ मोड लिएको छ । देउवा पक्षले आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै आए पनि कानुनी रूपमा अब थापा नै पार्टीको संस्थापन नेतृत्व बनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.