
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ सभापति गगन थापालाई बधाई दिँदै पार्टीमा फुट नभई परिवर्तन आएको टिप्पणी गरेकी छिन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो वक्तव्य जारी गर्दै नेतृ कोइरालाले वर्तमान समयमा युवा र नेपाली समाजले खोजेको परिवर्तनलाई सबैले खुसीसाथ स्वीकार गर्नुपर्नेमा जोड दिइन्।
‘अहिलेको समाज र जनताले परिवर्तन चाहेका छन्, यसलाई हामीले हाँसेर अँगाल्नुपर्छ,’ उनले भनिन्, ‘नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन। नयाँ सभापति आउनुभएको छ, म उहाँलाई बधाई दिन चाहन्छु।’ बिपीको विचार र गिरिजाप्रसादको संगठन नबिर्सन सुझाव बधाईका साथै कोइरालाले नवनिर्वाचित सभापति थापालाई महत्त्वपूर्ण सुझाव समेत दिएकी छिन्। उनले पार्टी हाँक्दा बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाले बनाएको संगठनको जगलाई कहिल्यै नबिर्सन आग्रह गरिन्।
कानुनी व्याख्यामा नअल्झिन आग्रह नेतृ कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद र वैधानिकताका विषयलाई लिएर धेरै कानुनी व्याख्या नगर्न समेत नेताहरूलाई सुझाव दिएकी छिन्। उनले परिवर्तनको यो घडीमा कसैलाई पनि नआत्तिन र नडराउन आग्रह गर्दै सकारात्मक सोचका साथ अघि बढ्न सबै पक्षलाई आह्वान गरिन्। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको भोलिपल्ट कोइराला परिवारकी प्रभावशाली नेतृबाट आएको यो भनाइलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

























