
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न १३ सदस्यीय ‘केन्द्रीय संसदीय बोर्ड’ गठन गरेको छ। निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको नेतृत्वमा उक्त बोर्ड गठन गरेको हो।
बोर्डको संरचना पार्टी विधानअनुसार गठित यस बोर्डमा सभापति थापाको नेतृत्वमा पदाधिकारीहरू र सदस्यहरू रहेका छन्। बोर्डमा उपसभापतिहरू, महामन्त्रीहरू र सह-महामन्त्रीहरूसहित १३ जना सदस्य रहने गरी टुङ्गो लगाइएको छ। यस बोर्डले आगामी निर्वाचनमा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम छनोट गर्ने जिम्मेवारी पाएको छ।
निर्वाचन केन्द्रित छलफल बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मुख्य केन्द्रमा राखेर विभिन्न निर्णयहरू गरेको छ। निर्वाचनको समय निकै कम भएकाले उम्मेदवार छनोट प्रक्रियालाई छिटो र पारदर्शी बनाउने विषयमा बैठकमा गम्भीर छलफल भएको थियो।
पार्टीभित्रको एकतामा जोड आधिकारिकताको विवाद टुङ्गिएपछि बसेको यो पहिलो औपचारिक बैठकले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई चुनावी अभियानमा एकताबद्ध भएर होमिन आह्वान गरेको छ। देउवा पक्षले कानुनी लडाइँको चेतावनी दिइरहेका बेला थापा नेतृत्वको समितिले भने आफ्नो सांगठनिक र चुनावी कामलाई तीव्रता दिएको छ।
























