माेरङ-३ मा एमालेलाई कमजोर बनाएर तेह्रथुम लागे भानुभक्त, टिकट राईलाई

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार ०८:४६

विराटनगर । एमालेको सुरक्षित क्षेत्र मानिएको मोरङको क्षेत्र नम्बर ३ मा पार्टी कमजाेर भएपछि एमाले नेता भानुभक्त ढकाल तेह्रथुम लागेका छन् ।

माेरङ -३ मा दुई पटक प्रतिस्पर्धा गरेका एमाले सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकाल तेह्रथुम फर्किएका हुन् ।

२०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ आएका उनले कांग्रेस उम्मेदवार डाक्टर सुनिल शर्मालाई पराजित गरे । २०७९ सालको निर्वाचनमा शर्मासँगै पराजित भए । पराजित भएपछि ढकाल मोरङ क्षेत्र नम्बर ३ जान छाडेका थिए । पार्टी संगठनपनि कमजोर भएको थियो ।

आगामी फागुन २१ को निर्वाचनका लागि उनी तेह्रथुम पुगेका हुन् । उनको स्थानमा एमालेले दीलिप राईलाई टिकट दिएकाे छ । राई पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख हुन् ।

क्षेत्र नम्बर ३ असुरक्षित देखेपछि उनी तेह्रथुम नै फर्किएको एमाले नेताहरु बताउँछन् । भानुभक्त तेह्रथुमको छथर– ५ ओख्रेमा जन्मिएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भएका कारण २०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ आउँदा उनलाई पाहुँना उम्मेदवारको ट्याग लागेको थियो । तर, चुनाव जितेका उनले २०७९ को निर्वाचनअघि क्षेत्र नम्बर ३ मा घरपनि बनाएका थिए ।

अन्य क्षेत्रमा को को उम्मेदवार ?

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा नेकपा एमालेले ४ वटामा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी २०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार डीगबहादुर लिम्बुसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर २ मा दिलीप बगडियालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा गत चुनावमा एमालेबाट ऋषिकेश पोखरेल निर्वाचित भएका थिए । पोखरेललाई ब्याक गरेर माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका बगडियालाई उम्मेदवार बनाएको हो । बगडीया रंगेली नगरपालिका प्रमुख हुन् । २०७४ मा माओवादी केन्द्रबाट पालिकाको प्रमुख जितेका उनी २०७९ सालको निर्वाचनमा एमालेबाट पालिका प्रमुख बिजयी भएका थिए ।

क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको छ । उनी २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ (२)मा कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर ५ र ६ को हकमा भने उम्मेदवारको नाम टुङ्गाे लागेकाे छैन । यी दुई क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.