
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट टिकट नपाएपछि नेतृत्वप्रति कडा असन्तुष्टि पोखेका छन्। जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परेर पनि केन्द्रबाट नाम काटिएपछि उनले पार्टीभित्रको ‘आर्थिक चलखेल’ र ‘गुटगत प्रवृत्ति’ माथि गम्भीर संकेत गरेका हुन्।
दैलेख–२ का आकांक्षी रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो तीन दशक लामो राजनीतिक यात्राको फेहरिस्त राख्दै नेतृत्वको निर्णयलाई चुनौती दिएका छन्। आफ्नो अभिव्यक्तिमा रिजालले टिकट वितरणमा हुने आर्थिक लेनदेनप्रति लक्षित गर्दै भनेका छन्- ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो।’ उनले आफूले कहिल्यै पनि व्यक्तिगत लाभ, आर्थिक सौदाबाजी वा सत्ताका लागि सम्झौता नगरेको दाबी गर्दै आफ्नो निष्ठालाई नै राजनीतिक पूँजी ठानेको बताएका छन्।
पिएचडी अध्ययन गरिरहेका र वैचारिक पैरवीमा सक्रिय रिजालले अगाडिबाट प्रतिस्पर्धा गर्न नसक्नेहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गरेको भन्दै त्यसलाई ‘कायरता’ को संज्ञा दिएका छन्। टिकट नपाए पनि रिजालले पार्टी छाड्ने वा असहयोग गर्ने बाटो भने रोजेका छैनन्। उनले आफू कम्तीमा अर्को २९ वर्षसम्म यही क्षेत्रका जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘म पार्टी, जनता र देशका लागि निरन्तर मैदानमै रहनेछु,’ उनले भनेका छन्।
राजनीतिक र बौद्धिक वृत्तमा प्रभावशाली मानिने रिजालको यो टिप्पणीले एमालेभित्र योग्य र बौद्धिक कार्यकर्ता भन्दा ‘पहुँच र पैसा’ भएकाहरूले प्राथमिकता पाएको सन्देश दिएको छ।
























