उम्मेदवार चयनप्रति योगेश भट्टराईको ४ बुँदे ‘फरक मत’, नेतृत्वको कार्यशैलीमाथि प्रश्न

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १६:५४

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले गरेको उम्मेदवार चयनको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै ४ बुँदे ‘फरक मत’ दर्ता गराएका छन्। माघ ३ गते बसेको केन्द्रीय कमिटी सचिवालय बैठकको निर्णयमाथि असहमति प्रकट गर्दै उनले आइतबार महासचिव शङ्कर पोखरेललाई आफ्नो फरक मत बुझाएका हुन्। भट्टराईले उम्मेदवार छनोटमा स्पष्ट मापदण्डको अभाव रहेको र नेतृत्वको इच्छा एवं पक्षधरता हाबी भएको आरोप लगाएका छन्।

भट्टराईले प्रस्तुत गरेको फरक मतमा उम्मेदवारको योग्यता, क्षमता र निष्ठाभन्दा पनि गुटगत भावनाका आधारमा निर्णय गरिएको उल्लेख छ। एघारौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीको आन्तरिक एकता सुदृढ हुनुपर्नेमा उम्मेदवार छनोटका क्रममा महाधिवेशनको पक्षधरता देखिएको र यसले पार्टीलाई कमजोर बनाउने उनको ठहर छ। कतिपय ठाउँमा समान विशेषता भएका व्यक्तिलाई उम्मेदवार बनाइएको र कतिपयलाई वञ्चित गरिएको भन्दै उनले यसलाई पार्टीको ‘गम्भीर भूल’ को रूपमा चित्रण गरेका छन्।

यस्तै, प्रभावशाली नेताहरूले असुरक्षित महसुस गर्दै आफ्ना पुराना निर्वाचन क्षेत्र छाडेर ‘सुरक्षित क्षेत्र’ तिर लाग्ने प्रवृत्तिको पनि भट्टराईले तिखो आलोचना गरेका छन्। जननेता मदन भण्डारीले काठमाडौँ–१ बाट लडेको ऐतिहासिक उदाहरण दिँदै उनले प्रभावशाली नेताहरू चुनौतीपूर्ण क्षेत्रमा उत्रिए मात्र कार्यकर्तामा उत्साह आउने तर्क गरेका छन्। नेताहरू सुरक्षित क्षेत्रमा जाँदा एकातिर नकारात्मक सन्देश जाने र अर्कोतिर वर्षौँदेखि खटेका स्थानीय कार्यकर्तामाथि अन्याय हुने उनको दाबी छ।

पार्टी नेतृत्वले अहिले गरेको निर्णयले चुनावी अभियानमा हुनुपर्ने उत्साह र अभूतपूर्व एकताको अवसर गुमाएको भट्टराईको निष्कर्ष छ। यद्यपि, पार्टीले निर्णय गरिसकेको अवस्थामा एमाले उम्मेदवारहरूको विजय नै पहिलो सर्त भएको उनले बताएका छन्। अहिलेको निर्णयमाथिको समीक्षा उचित समयमा हुने भन्दै उनले सम्पूर्ण कार्यकर्तालाई विचलित नभई चुनावी अभियानमा होमिन र पार्टीको जीतमा केन्द्रित हुन अपिल समेत गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.