
काठमाडौँ । नेकपा (माओवादी) का शीर्ष नेताहरूले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष तहका नेताहरू चुनावमा नउठ्ने निर्णय गरेको हो।
पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’ का अनुसार शीर्ष नेतृत्व बाहेकका अन्य नेताहरूको हकमा भने चुनाव लड्न कुनै रोक लगाइएको छैन। यो निर्णयसँगै पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि उम्मेदवारी नदिने निश्चित भएको छ।
यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने चर्चा चलेको थियो। तर, पार्टीको पछिल्लो निर्णयअनुसार अब उनले रोल्पामा उम्मेदवारी दिने छैनन्। पार्टीले शीर्ष नेताहरूलाई चुनावी मैदानमा उतार्नुको सट्टा संगठन परिचालन र निर्वाचन अभियानको कमाण्ड सम्हाल्ने गरी तयारी गरेको बुझिएको छ।
























