
विराटनगर । नेकपा एमालेले माेरङकाे क्षेत्र नम्बर ३ बाट इरन राईलाई उम्मेदवार बनाएकाे छ ।
शनिबार उम्मेदवारको नाम फाइनल गर्दा मोरङको क्षेत्र नम्बर ३ मा दीलिप राईको नाम थियो । क्षेत्रीय समितिको सिफारिसका आधारमा केन्द्रीय कमिटीले टिकट दिए पनि उनले चुनाव लड्न नमानेपछि इरनले टिकट पाएका हुन् । एमाले जिल्ला उपाध्यक्ष सागर थापाले दीलिप राई उम्मेदवार बन्न नमानेपछि इरनलाई टिकट दिइएको स्वीकार गरे ।
‘खासमा यो क्षेत्र पार्टी सचिव भानुभक्त ढकालको थियो, क्षेत्र बिगारेर उहाँ तेह्रथुम लागेपछि केही समस्या भएको हो,’ एमाले मोरङ स्रोत भन्छ, ‘दीलिप राईले नमानेपछि इरन राईले टिकट पाउनुभयो ।’
कुनैसमय नेकपा एमालेको सुरक्षित क्षेत्र हाे मोरङ क्षेत्र नम्बर ३ । तर याे क्षेत्रमा कांग्रेस नेता तथा मेडिकल व्यवसायी सुनील शर्माको प्रभाव छ । २०७४ को निर्वाचनमा भानुभक्त ढकालसँग पराजित भएका शर्माले २०७९ सालमा भानुभक्तलाई नै पराजित गरेका थिए । यो पटक पनि उनी नेपाली कांग्रेसबाट उम्मेदवार बन्दैछन् । उनीसँग प्रतिस्पर्धा गर्न नमानेका ढकालले तेह्रथुमको टिकट पाएका छन् ।
एमाले नेताहरूका अनुसार दीलिप राईले शर्मासँग चुनाव लड्न पैसा नभएकाे भन्दै टिकट लिन मानेनन् । पथरीशनिश्चरेका पूर्व प्रमुख उनी गत चुनावमा प्रदेशसभामा उठेर पराजित भएका थिए ।
शनिबार एमालेले मोरङ क्षेत्र नम्बर ५ र ६ खाली राखेको थियो । क्षेत्र नम्बर ५ मा युवा नेता मारवाडी समुदायका मनोज अग्रवाल र क्षेत्र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ ।
एमाले भित्र इतर समूहमा रहेका ढकालको नाम क्षेत्र नम्बर १, ४ र ६ बाट सिफारिस भएको थियो । उनी चुनाव उठ्ने मनस्थतिमा थिएनन् । अध्यक्ष ओलीबाट टिकट पाउने आशमा पनि थिएनन् । तर, आइतबार अबेर टिकट पाएपछि उनी अभियानमा होमिएका छन् ।
नेकपा एमालेले मोरङ क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ । यो उनको पाँचौं संसदीय निर्वाचन प्रतिस्पर्धा हो । क्षेत्र नम्बर २ बाट रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया उम्मेदवार बन्दैछन् । दुई पटक रंगेलीको मेयर जितेका बगडीयाको संघमा पहिलो उम्मेदवारी हो । क्षेत्र नम्बर ४ मा जीवन घिमिरे उम्मेदवार बन्दैछन् ।
























