
झापा । आगामी निर्वाचनका लागि झापाका विभिन्न निर्वाचन क्षेत्रबाट १८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाभरका कुल ९० उम्मेदवारमध्ये २० प्रतिशत हिस्सा स्वतन्त्र उम्मेदवारको देखिएको छ। निर्वाचन क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी क्षेत्र नम्बर ५ बाट १० जनाले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारी दिनेहरूमध्ये वरिष्ठ कानुनविद् प्रा.डा. युवराज संग्रौलाले झापा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन्। उनले आफू हारजितको परम्परागत खेलभन्दा माथि उठेर नयाँ विचार र अभियान स्थापित गर्न मैदानमा उत्रिएको बताए। उनले आफ्नो उम्मेदवारीलाई एउटा वैचारिक आन्दोलनको रूपमा व्याख्या गरे।
यसैगरी, राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले झापा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले आदिवासी समुदायको अधिकार, पहिचान र राजनीतिक स्वाभिमानको मुद्दालाई मुख्य एजेन्डा बनाएर आफू निर्वाचनमा होमिएको बताए।
क्षेत्रगत विवरण अनुसार क्षेत्र नम्बर १ बाट दुर्गाबहादुर साँवा लिम्बू र गणेशकुमार पोखरेलले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर २ मा डा. संग्रौलासहित पुण्यप्रसाद आचार्य र रमेशकुमार कार्की मैदानमा छन् भने क्षेत्र नम्बर ३ बाट अभय राजवंशी र मानबहादुर संग्रौलाले मनोनयन भरेका छन्। यस्तै क्षेत्र नम्बर ४ बाट साजन माझीले उम्मेदवारी दिएका छन्।
सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार रहेको क्षेत्र नम्बर ५ मा प्रकाश नेपाल, मातृका भट्टराई, शोभा भण्डारी, अर्जुन सापकोटा, खेमनाथ शिवाकोटी, डम्बर शाह, पुष्कर खतिवडा, रन्जना गौतम र विपुल गुरागाँई रहेका छन्। जिल्लामा राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको यो उपस्थितिले चुनावी प्रतिस्पर्धालाई थप बहुआयामिक बनाउने देखिएको छ।

























