
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिको सर्वाधिक चासोको केन्द्र बनेको छ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बीचको प्रत्यक्ष प्रतिस्पर्धाले यो क्षेत्रलाई ‘हाइ–प्रोफाइल’ भिडन्तको थलो बनाएको हो।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले अध्यक्ष ओली आफ्नो ‘सेफ जोन’ मानिने यसै क्षेत्रबाट पुनः निर्वाचित भएर सत्तारोहण गर्ने दाउमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका बालेन शाह वैकल्पिक राजनीतिको लहर ल्याउने प्रयासमा छन्। रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेपछि यस क्षेत्रको चुनावी लडाइँ झन् रोचक बनेको छ।
मुख्य प्रतिस्पर्धीका रूपमा ओली र शाह देखिए पनि अन्य दलको उपस्थिति पनि उत्तिकै बलियो छ। नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र नेकपाबाट रञ्जित तामाङले पनि उम्मेदवारी दिएका छन्। कुल २४ उम्मेदवारमध्ये १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट छन् भने १० जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। चुनावी मैदानमा जनमत पार्टी, राप्रपा, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार उतारेका छन्।
यस क्षेत्रमा महिला उम्मेदवारको संख्या भने निकै कम छ। चुनावी प्रतिस्पर्धामा रहेका २४ जनामध्ये मन्दरा चिमरिया (नेपाली कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र) गरी ३ जना मात्र महिला छन्। बाँकी २१ जना पुरुष उम्मेदवार छन्। उम्मेदवारहरूको उमेर समूहलाई हेर्दा २७ देखि ७५ वर्षसम्मका आकांक्षीहरू मैदानमा देखिएका छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २७ वर्षीय सुशान्त साग्त राई यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्।
पाका र अनुभवी नेता ओली तथा युवा पुस्ताको ढुकढुकी मानिने बालेन शाहबीचको यो प्रतिस्पर्धाले झापा–५ को चुनावी नतिजा कता जान्छ भन्ने कुराले देशभरको राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।
























