
विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सञ्चालनमा नेता डा. शेखर कोइरालाले नयाँ नेतृत्वसँग भागबण्डा गर्दै कोशी प्रदेशमा आफ्नो समूहको सम्मानजनक उपस्थिति सुनिश्चित गरेका छन्। सुरुमा विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइराला निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि नयाँ समीकरण बनाउँदै चुनावी प्रक्रियामा सामेल भएका हुन्।
१४ औँ महाधिवेशनपछि पार्टीभित्र प्रतिपक्षी धारको नेतृत्व गरेका कोइराला पछिल्लो समय संस्थापन पक्षसँग निकट देखिएका थिए। तर, उम्मेदवार चयनका क्रममा उनले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये महत्वपूर्ण सिटहरूमा आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्न सफल भएका छन्।
विशेष गरी मोरङका ६ क्षेत्रमध्ये ३ वटामा कोइराला पक्षले टिकट पाएको छ। क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल र ३ बाट सुनिल शर्मा उम्मेदवार छन्। क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका महामन्त्री गुरुराज घिमिरे पनि यसअघि कोइराला समूहकै प्रभावशाली नेता मानिन्थे।
सुनसरीमा पनि कोइरालाको प्रभाव बलियो देखिएको छ। क्षेत्र नम्बर २ बाट राजीव कोइराला र ३ बाट विजयकुमार गच्छदारले टिकट पाएका छन्। सुनसरी ३ मा सभापति गगन थापाले बेदप्रकाश गच्छदारलाई अघि सारे पनि कोइरालाकै अडानका कारण अन्तिम समयमा विजयकुमार गच्छदारले नै टिकट पाएको कांग्रेस वृत्तमा चर्चा छ। यस्तै, झापा क्षेत्र नम्बर १ बाट केशवराज पाण्डे र २ बाट सरिता प्रसाईँ पनि कोइराला समूहकै कोटाबाट उम्मेदवार बनेका छन्।
इलाम क्षेत्र नम्बर २ मा भेषराज आचार्य, भोजपुरमा बालकृष्ण थापा र उदयपुरका दुवै क्षेत्रमा विदुर बस्नेत तथा रामकुमार राईलाई कोइराला पक्षले आफ्ना उम्मेदवारका रूपमा अघि सारेको छ। अर्कातर्फ, सभापति गगन थापा समूहले पनि सुनसरी १ मा सुजेन्द्र तामाङ, धनकुटामा दिनेश राई र पाँचथरमा नरेन्द्रकुमार केरुङसहितका नेताहरूलाई चुनावी मैदानमा उतारेको छ।
कोशी प्रदेशका अन्य क्षेत्रमा भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षले पनि आफ्नो हिस्सा लिएका छन्। यसरी हेर्दा, कोशीमा कांग्रेसले गुटगत सन्तुलन मिलाएरै चुनावमा जाने प्रयास गरेको देखिन्छ।
























