
विराटनगर । नेपाली राजनीतिको एउटा ऐतिहासिक केन्द्र मोरङ क्षेत्र नम्बर–६ मा यसपटक रोचक चुनावी भिडन्त हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र नेकपा (एमाले) का नेता विनोद ढकाल १७ वर्षपछि पुनः आमनेसामने भएका छन् । उनीहरूलाई युवा उम्मेदवारले चुनाैति दिएका छन् ।
वि.सं. २०६५ सालको उपनिर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेका यी दुई नेताबीचको यो दोस्रो सिधा भिडन्त हो । त्यतिबेला डा. कोइराला विजयी हुँदा ढकाल तेस्रो स्थानमा खुम्चिएका थिए । १७ वर्षको अन्तरालमा राजनीतिले धेरै मोड लिए पनि यी दुई पात्र फेरि एकै मैदानमा उत्रिँदा मोरङ–६ को चुनावी सरगर्मी बढेको छ ।
अनपेक्षित टिकट र ढकालको पुनरागमन
एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको ‘विपक्षी’ धारको समूहमा रहेका कारण विनोद ढकालले टिकट पाउनेमा धेरैलाई शंका थियो । स्वयं ढकाल पनि चुनाव लड्ने मनस्थितिमा थिएनन् । तर,अन्तिम समयमा ओलीले ढकाललाई अघि सारेपछि उनी ‘सर्प्राइज’ उम्मेदवार बनेका छन् ।
संसदीय राजनीतिमा ढकालको विगत भने सुखद छैन । २०६५ को उपनिर्वाचन, २०७४ को विराटनगर महानगरको मेयर र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माेरङ क्षेत्र नं ४मा हार बेहोरेका ढकालका लागि यो चुनाव ‘अस्तित्वको लडाइँ’ र ‘कमब्याक’ गर्ने अवसर हो ।
कोइराला परिवारको विरासत
कृष्णप्रसाद काेइराला हुँदै वीपी र गिरिजाप्रसाद कोइरालाले सुरू गरेकाे राजनीतिक विरासत अहिले डा. शेखर कोइरालाको काँधमा छ । डा. कोइरालाका लागि यो छैटौँ चुनावी परीक्षा हो । पेसाले चिकित्सक उनी २०६४ मा पराजित भए पनि त्यसपछिका निर्वाचनमा तीन पटक विजयी भइसकेका छन् ।
२०७४ मा वाम गठबन्धनका लालबाबु पण्डितसँग झिनो ६७५ मतले पराजित भएका उनले २०७९ मा सोही हारको बदला लिँदै भारी मतान्तरले जितेका थिए । कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका कडा आलोचक र पार्टीको शक्तिशाली दोस्रो धारको नेतृत्व गरिरहेका शेखरका लागि यो जित आफ्नो राष्ट्रिय कद कायमै राख्न अनिवार्य छ ।
यसपटकको प्रतिस्पर्धा डा. शेखर र विनोदबीच मात्र सीमित छैन । मैदानमा २० जना उम्मेदवार छन्, जसले परम्परागत मत काट्ने निश्चित छ । रास्वपाबाट रुविना आचार्यको उम्मेदवारी छ । नेकपाका ओपेन्द्र राय र उज्यालो नेपालका बसन्त बुढाथोकी पनि मैदानमा छन् । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै राम खत्रीले उम्मेदवारी दिएका छन् । किरण खड्का पनि चुनावी मैदानमा छन् ।
























