
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह चुनावी प्रचारप्रसारका लागि इलाम पुगेका छन्। उनले बिहीबार बिहान इलामका विभिन्न स्थानमा घरदैलो गर्दै आफ्ना दलका उम्मेदवारका लागि भोट मागेका हुन्।
इलाममा आयोजित घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रममा बालेनसँगै इलाम क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का उम्मेदवार गोकुलबहादुर राई सहभागी थिए। झापा ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मंगलबार मनोनयन दर्ता गरेका बालेन पछिल्लो समय अन्य क्षेत्रका उम्मेदवारलाई सघाउन सक्रिय देखिएका छन्।
उनले बुधबार दमकस्थित आफ्नो सम्पर्क कार्यालयमा समर्थकहरूसँग भेटघाट गरेका थिए। त्यसलगत्तै उनले झापा, मोरङ र सुनसरीका रास्वपा उम्मेदवारहरूसँग पनि भेट गरी चुनावी रणनीतिका विषयमा छलफल गरे। रास्वपाले बालेनलाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। सोही रणनीति अनुसार पार्टीले उनलाई आफ्नै क्षेत्रमा मात्र सीमित नराखी देशभरका अन्य निर्वाचन क्षेत्रमा पनि प्रचारप्रसारका लागि परिचालन गर्ने योजना बनाएको छ।
























