पार्टी फुटबाट जोगाउन मध्यमार्गी बाटो रोजेँ : कोइराला

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १२:४८

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्। बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचामा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस्तो धारणा राखेका हुन्।

प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोजित छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा आफ्नो अनुपस्थितिको कारण प्रस्ट्याए। ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी फुट्थ्यो, दुई टुक्रा हुन्थ्यो,’ उनले भने, ‘पार्टी नफुटोस् भनेर नै मैले बीचको बाटो रोजेको हुँ। मलाई धेरै आक्षेप आए पनि पार्टी जोगाउनु मेरो प्राथमिकता थियो।’

उनले विशेष महाधिवेशनलाई पार्टीको एउटा प्रक्रियाका रूपमा लिन आग्रह गर्दै अब त्यो अध्याय सकिएकाले निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। उनले थपे, ‘आज हामी सबै एकै स्थानमा छौँ र निर्वाचनको दौडमा सँगै छौँ। त्यसैले महाधिवेशनका कुरा छोडेर अब कांग्रेसलाई जिताउन एकढिक्का भएर लाग्नुपर्छ।’

सांसदका रूपमा आफ्नो कार्यकालमा भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाएको दाबी गर्दै उनले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउन आफू केन्द्रित रहेको बताए। उनले यस क्षेत्रका जनताको शिर राष्ट्रिय राजनीतिमा कहिल्यै झुक्न नदिएको समेत उल्लेख गरे। आगामी निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने बताउँदै कोइरालाले पार्टीलाई नफुटाई निर्वाचनमा लैजानु नै अहिलेको उत्तम विकल्प भएको जिकिर गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.