
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रियाअन्तर्गत आज (शुक्रबार) उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदैछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । त्यसपछि निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु हुने छ । मतदानको आउन अब ४१ दिन मात्र बाँकी छ ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म सम्बन्धित उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गतको कार्यतालिकाअनुसार यसअघि माघ ७ गते दाबी–विरोधमा उजुरी दिने अवधि तोकिएको थियो ।
दिन बिहान १ बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्ने समय निर्धारण गरिएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरेर सोही आधारमा उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ८६ जनाको उम्मेदवारी परेको छ । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको थियो ।
दर्ता भएका कुल उम्मेदवारीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहका उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते देशभर एकै चरणमा हुने तय भएको छ ।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ । उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएपछि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार दुवैले मतदाता केन्द्रित प्रचार अभियानलाई तीव्र बनाउने छन् ।

























