कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार ०७:४३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको कांग्रेस नेताहरूले बताएका छन् । उपसभापति पुष्पा भुसालका अनुसार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने निर्वाचनमा होमिन बैठक बोलाइएको हो ।

बैठकअघि सभापति थापासहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पदभार ग्रहण गर्ने कार्यक्रम छ । गगन थापा गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

विशेष महाधिवेशनपछि गठन भएको नयाँ केन्द्रीय कार्यसमितिको यो पहिलो बैठक हो । बैठकमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुका साथै निर्वाचन अभियान सञ्चालनका लागि आवश्यक समिति गठन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

बैठक सकिएपछि सभापति थापा चुनावी प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.