महावीरको चुनाव चिह्न ‘त्रिभुज’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १७:१४

म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले आफ्नो चुनाव चिह्न ‘त्रिभुज’ प्राप्त गरेका छन् ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनले उपलब्ध गराइएका चिह्नहरूमध्ये त्रिभुज रोजेका हुन् । चिह्न छनोटको प्रक्रिया पूरा भएपछि औपचारिक रूपमा उनलाई उक्त चुनाव चिह्न प्रदान गरिएको हो ।

Advertisement

निर्वाचन आयोगले निर्वाचनका क्रममा प्रयोग गर्न नपाइने केही चिह्नहरू पहिल्यै सूचीबद्ध गरी निषेध गरेको छ भने बाँकी प्रयोग गर्न मिल्ने चिह्नहरू उम्मेदवारलाई छनोटका लागि उपलब्ध गराएको छ । सोही सूचीअनुसार स्वतन्त्र उम्मेदवारहरूले आफ्नो रोजाइको चिह्न लिने व्यवस्था छ ।

पुन स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर प्रत्यक्षतर्फ ३ हजार ३ सय ८७ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये एकतिहाइभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरूको संख्या १ हजार १ सय ८८ छ । उक्त संख्या कुल उम्मेदवारको ३४.०६९ प्रतिशत हो ।

बाँकी २ हजार २ सय ९९ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन् । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको प्रक्रिया यही ६ माघमा सम्पन्न भएको थियो ।

त्यसपछि शुक्रबार स्वतन्त्र उम्मेदवारहरूका लागि चुनाव चिह्न वितरणको कार्यक्रम तय गरिएको हो । दलीय उम्मेदवारहरूको हकमा भने सम्बन्धित दलले पाएको स्थायी चुनाव चिह्न नै प्रयोग हुने व्यवस्था छ ।

म्याग्दीमा महावीर पुनको उम्मेदवारी र उनले रोजेको त्रिभुज चुनाव चिह्नसँगै निर्वाचन गतिविधि थप सक्रिय बन्दै गएको छ । उम्मेदवारहरू आ–आफ्नो चिह्न प्राप्त गरेसँगै चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउने तयारीमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.