
काठमाडौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि नयाँ नेतृत्व, नयाँ संकल्प र स्पष्ट राजनीतिक दिशासहित निर्वाचनको मैदानमा उत्रिने निर्णय गरेको छ ।
पार्टी सभापतिमा निर्वाचित गगन थापाले पदबहालीसँगै ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने प्रतिबद्धतामा पहिलो हस्ताक्षर गर्दै कांग्रेसको राजनीतिक यात्रालाई नयाँ चरणमा प्रवेश गराएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि सानेपास्थित केन्द्रीय कार्यालय पुगेर पदभार सम्हालेका थापाले देशको समुन्नतिलाई एकमात्र ध्येय बनाएर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् ।
पदबहालीलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय सर्वसम्मत रूपमा गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव राखेको र उपसभापति पुष्पा भुसालले समर्थन गरेको उक्त प्रस्ताव केन्द्रीय समितिबाट एकमतले पारित भएको हो ।
सभापति थापाले आफू सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि जिम्मेवारी निभाउन गाह्रो हुने यथार्थ बुझिसकेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसको कुनै पनि दलसँग दुस्मनी नरहेको, सबै राजनीतिक दल प्रतिस्पर्धी र सहयात्री भएको र जितहार एजेन्डाका आधारमा हुने धारणा राखे । उनले पार्टीभित्र मतभिन्नता स्वाभाविक भएको भन्दै छलफल र संवादबाट समाधान खोजिने बताए ।
निर्वाचन तयारीका सन्दर्भमा थापाले कांग्रेस आफैं बदलिएर मैदानमा उत्रिएको दाबी गरे । उम्मेदवार छनोटमा केही कमजोरी र त्रुटि भएको स्वीकार गर्दै आगामी निर्वाचनमा जिल्लामै मतदानबाट उम्मेदवार टुंग्याउने र अझ समावेशी प्रक्रिया अपनाउने प्रतिबद्धता जनाए ।
१६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाइएको भन्दै उनले पार्टीलाई पुस्तान्तरणको दिशामा अघि बढाइएको स्पष्ट पारे । २०७९ को कठिन परिस्थितिमा पनि कांग्रेसले २७ लाख मत पाएको स्मरण गराउँदै यसपटक ‘रुखमै भोट हाल्न मिल्ने’ वातावरण बनाइएको उनको भनाइ थियो ।
उनले नेता कार्यकर्तालाई आफ्नै क्षेत्रमा केन्द्रित भएर काम गर्न निर्देशन दिँदै निर्वाचनका लागि आचारसंहिता बनाएर ‘फेयर प्ले’ र ‘फेयर गेम’को अभ्यास गरिने बताए । गगन थापाको राजनीतिक यात्रा त्रिचन्द्र क्याम्पसबाट सुरु भएको हो ।
नेविसंघबाट राजनीति सुरु गर्दै स्ववियु, केन्द्रीय सदस्य, महामन्त्री र अहिले सभापतिसम्म आइपुग्दा उनले राजतन्त्रविरुद्धको आन्दोलन, गिरफ्तारी र पार्टीभित्रकै आरोप–प्रत्यारोप झेलेका छन् । २०६४ देखि निरन्तर सांसद रहँदै आएका थापा पछिल्लो निर्वाचनसम्म काठमाडौँ–४ बाट निर्वाचित भए पनि यसपटक क्षेत्र परिवर्तन गरेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।
मधेशी बहुल क्षेत्र, बलिया प्रतिस्पर्धी र नयाँ उम्मेदवारको प्रयोगले उनको नेतृत्वका लागि चुनौती थपिएको विश्लेषण भइरहेका छन् । कांग्रेसले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने यो निर्णय ऐतिहासिक रूपमा दोस्रो हो ।
यसअघि २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा गएको कांग्रेसले बहुमत ल्याएको थियो । तर, आन्तरिक खिचातानीका कारण त्यो सरकार टिक्न सकेन । अहिले गगन थापाको नेतृत्वमा कांग्रेसले त्यो इतिहासबाट के सिक्छ र कस्तो परिणाम निकाल्छ भन्ने प्रश्नसँगै राजनीतिक वृत्तमा चासो बढेको छ ।
पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको असन्तुष्टि, अदालतमा विचाराधीन मुद्दा, उम्मेदवार छनोट र क्षेत्र परिवर्तनजस्ता चुनौतीका बीच कांग्रेसले स्पष्ट नेतृत्व र प्रधानमन्त्रीका उम्मेदवारसहित निर्वाचनमा होमिने निर्णय गरेको हो । अब बदलिएको कांग्रेसले गगनको नेतृत्वमा देश बदल्ने विश्वास मतदाताबाट पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न चैं जीवितै छ।

























