मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १८:१३
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मनोनयन दर्ता गराएकामध्ये शुक्रबार ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङमा माघ ६ गते १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिनेमध्ये २ जना राजनीतिक दलका र ४ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरुले तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

मोरङको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्रसाद दर्लामी र क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तिलकराम राजवंशीले चुनावी दौडबाट बाहिरिने निर्णय गरेका हुन् । यसैगरी, स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मोरङ क्षेत्र नम्बर ३ का सुरेश लिम्बू, कञ्चन न्यौपाने र दलबहादुर थापा तथा क्षेत्र नम्बर ६ का राम खत्रीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा ४ बमोजिम उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरूको नाम आधिकारिक सूचीबाट हटाइसकिएको छ । यसअघि नै मोरङको क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीका विनोद परियार र क्षेत्र नम्बर ६ बाट जसपाका महमद जाविरको उम्मेदवारी रद्द भइसकेको थियो ।

उम्मेदवारी फिर्ता र रद्दसमेत गरी हालसम्म ८ जना उम्मेदवार चुनावी मैदानबाट बाहिरिएका छन् । उम्मेदवारी दर्ता गराएका १ सय १८ जनामध्ये ६ जनाले फिर्ता लिएका हुन् भने २ जनाको रद्द भएको हो ।

अब मोरङमा १ सय १० जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारको संख्या घटेसँगै दलगत रणनीति, स्वतन्त्र उम्मेदवारको भूमिका र मत विभाजनको सम्भावनाबारे राजनीतिक चासो अझ तीव्र बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.